अन्तर्राष्ट्रिय

भारतले २०२२ सम्म अन्तरिक्षमा मानवयान पठाउने

७२औं स्वतन्त्रता दिवस मनाउने क्रममा राजधानी नयाँ दिल्लीस्थित लालकिल्लाबाट देशवासीका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। तस्बिर : द हिन्दू

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा मानवसहितको यान अन्तरिक्षमा पठाउने प्रतिज्ञा गरेका छन्।

भारतको ७२औं स्वतन्त्रता दिवसका अवसरमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यस्तो प्रतिबद्धता व्यक्त गरेको ‘द टाइम्स अफ इन्डिया’ले उल्लेख गरेको छ।

‘सन् २०२२ मा भारतले आफ्नो ७५औं स्वतन्त्रता दिवस मनाउँदै गदौ वासम्भव भएसम्म त्योभन्दा अघि नै भारतीय छोरा वा छोरीले भारतीय झन्डासहितको ‘गगनयान’ अन्तरिक्षमा लाने मिसन सञ्चालन गरिहेका हुने छन्,’ लाल किल्लाबाट प्रधानमन्त्री मोदीले घोषणा गरेका छन्। यो अभियान सफल भयो भने संयुक्त राज्य अमेरिका, रुस र चीनपछि अन्तरिक्षमा मानवसहितको यान पठाउने भारत चौथो राष्ट्र बन्ने छ। यद्यपि सन् २००४ देखि टेबलमा रहेको प्रस्तावित ह्युमन स्पेसफ्लाइट प्रोगाम (एचएसपी)ले पछिल्लो दशकमा केही आलोचनात्मक प्रविधिमा विकास गरे पनि अन्तरिक्ष अभियानका लागि अझै धेरै गर्न बाँकी रहेको बताइएको छ ।

अभियानअन्तर्गत पुनः प्रयोग गर्न मिल्ने प्रक्षेपण सवारी साधान टू–स्टेज–टू–अर्बिट (टिएसटिओ)ले दुई–तीन जना मानिसलाई पृथ्वीको तल्लो कक्षसम्म लगेर फिर्ता ल्याउने सुरुवाती योजना रहेको थियो। सरकारले यान प्रक्षेपणको तयारीका लागि एक सय ४५ करोड रकम विनियोजन गरिसकेको छ र बुधबारको मोदीको घोषणापछि इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इस्रो)ले आगामी महिनाहरुमा सरकारबाट थप बजेट प्राप्त गर्ने अनुमान गरिएको छ।

आजसम्म यो महत्वकांक्षी योजनाको कूल लागत सार्वजनिक गरिएको छैन तर जानकारहरुका अनुसार यो योजनाका लागि कम्तीमा १० हजार करोड देखि १२ हजार करोडसम्म भारतीय रुपैयाँ लाग्ने अनुमान गरिएको छ। अन्तरिक्षमा यान पठाउने तयारीअन्तर्गत इस्रोले केही प्रविधिलाई परीक्षण गरिरहेको छ। जसमा यानमा रहने अन्तरिक्ष यात्रुको समूह बाहिर निस्कने प्रविधिलाई प्रस्तावित एचएसपीको एउटा अंशका रूपमा जुलाई ५ मा परीक्षण गरिएको थियो।

प्रकाशित: ३१ श्रावण २०७५ ०२:४४ बिहीबार

#भारतीय प्रधानमन्त्री #नरेन्द्र मोदी