अन्तर्राष्ट्रिय

‘उत्तर कोरिया अझै पनि चुनौती’

जुन १२ मा सिंगापुरमा भएको ऐतिहासिक बैठकमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। फाइल तस्बिर : एजेन्सी

वासिङ्टन – उत्तर कोरियको आणविक हतियारका कारण अझैपनि असाधारण चुनौती बाँकी रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङविरुद्धको प्रतिबन्धलाई नविकरण गरेका छन्।

१० दिनअघि मात्रै प्योङयाङबाट अब कुनै असुरक्षा वा चुनौती बाँकी नरहेको भनेका ट्रम्पले उत्तर कोरियाविरुद्धको नाकाबन्दीलाई नविकरण गर्नुलाई आश्चर्य रूपमा हेरिएको छ।

‘उत्तर कोरियाबाट अब कुनै पनि प्रकारको आणविक चुनौती छैन,’ उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनसँग सिंगापुरमा गरेको शिखर बैठकको भोलीपल्ट १३ जुनमा अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट गरेका थिए। शिखर सम्मेलनको भोलीपल्ट नै गरेको अर्को फरक ट्विटमा ट्रम्पले अमेरिकी नागरिकले अब मज्जाले सुत्न सक्ने बताएका थिए।

अमेरिका र दक्षिण कोरियाको दुई वटा संयुक्त सैनिक अभ्यास रद्द गरेसँगै प्योङयाङविरुद्धको नाकाबन्दीलाई नविकरण गरिएको बिबिसीले जनाएको छ। संयुक्त सैन्य अभ्यास रोक्ने निर्णय उत्तर कोरियासँगको कूटनीतिक वार्तालाई समर्थन गर्ने उद्देश्यले गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। अगस्ट महिनाका लागि तय भएको अमेरिका र दक्षिण कोरियाबीचको प्रमुख संयुक्त सैन्य अभ्यास स्थगित गरेको एक सातापछि दुई वटा संयुक्त सैन्य अभ्यास रोक्ने निर्णय गरिएको छ । जुन १२ मा सिंगापुरमा भएको शिखर बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले वार्षिक ‘युद्ध खेल’लाई खर्चिलो र काम नलाग्ने भएको भन्दै त्यसलाई अन्त्य गर्ने उत्तर कोरियाली नेता किमलाई प्रतिबद्धता व्यक्त गरेका थिए।

किमसँग भेट्नुअघि आफ्नो सैन्य गठबन्धन सोलसँगको संयुक्त सैन्य अभ्यास अत्यन्तै आवश्यक र प्रतिरक्षात्मक भएको बताउने गरेका ट्रम्पले किमलाई गरेको प्रतिबद्धताले धेरैलाई आश्चर्यचकित पारेको थियो।

ट्रम्पले बोली फेरेका हुन्?
उत्तर कोरियाविरुद्धको नाकाबन्दीलाई नविकरण गर्ने निर्णयलाई मात्रै लिएर ट्रम्पले बोली फेरेको भन्न नमिल्ने बिबिसीले जनाएको छ। सन् २००८ देखि उत्तर कोरियालाई लिएर अमेरिकामा ‘राष्ट्रिय आपतकाल’ लगाइएको छ। त्यसै कारणले सो समयदेखि अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाविरुद्धको नाकाबन्दीलाई निरन्तरता दिइरहेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सोही राष्ट्रिय आपतकालको समयलाई थप गरेको बताइएको छ। उत्तर कोरियासँग आणविक हतियार अहिले पनि रहेको र त्यसको खतरा विद्यमान नै भएका कारणले आपतकालको समयलाई थप गरिएको बताइएको छ। ‘अमेरिकाको राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थतन्त्रमा उत्तर कोरियाबाट हुनसक्ने अप्रिय र असाधारण चुनौती बाँकी नै रहेकाले नाकाबन्दी जारी राखिएको हो,’ अमेरिकी संसदलाई पठाइएको नोटिसमा ट्रम्पले जनाएका छन्। ह्वाइट हाउसको पछिल्लो निर्णय उसले सिंगापुर शिखर बैठक सफल भएको भन्दै दिइरहेको अभिव्यक्तिसँग बाझिएको डेमोक्र्याटहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

‘ट्रम्पको आफ्नै प्रशासनले जारी गरेको प्रतिवेदनले उनले केही साताअघि दिएको विज्ञप्तिलाई पूर्ण रूपमा काटेको छ,’ अमेरिकी संसद सिनेटका उच्च डेमोक्र्याट चुक स्कुमरलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

‘सार्वजनिक भएको तस्बिरमात्रै नहेरेर हामीले ट्रम्प–किमबीचको शिखर बैठकलाई नजिकबाट हेर्न जरुरी भएको छ,’ उनले बताए।

जुन १२ मा सिंगापुरमा बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेताबीच पहिलो पटक भएको ऐतिहासिक शिखर बैठकमा दुवै नेताले गरेको संयुक्त विज्ञप्तिमा उत्तर कोरियाको सुरक्षा ग्यारेन्टी अमेरिकाले गर्ने र त्यसको बदलामा कोरियाली प्रायद्वीपलाई पूर्ण रूपमा निःशस्त्रीकरण गर्नेतर्फ काम गर्ने जनाइएको थियो । कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्ने दिशामा अघि बढ्ने भनिए पनि त्यो कुन तरिकाले हुने वा कहिलेसम्म हुने भन्नेबारे भने दुवै नेताले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा जनाइएको थिएन। उत्तर कोरियाली सञ्चारमाध्यमले भने आफूविरुद्धको अमेरिकी प्रतिबन्ध हटाउनेबारे ट्रम्पले शिखर बैठकमा प्रतिबद्धता व्यक्त गरेको बताएका थिए।

प्रकाशित: १० असार २०७५ ०३:०८ आइतबार

उत्तर कोरिया चुनौती