एक वर्षअघि घर फर्कने क्रममा बेपत्ता भएका जापानको एक विश्वविद्यालयका चिनियाँ प्राज्ञ जापान फर्किएका छन्।
पश्चिमी जापानको कोबे गाकुइन विश्वविद्यालयमा चिनियाँ साहित्य र भाषाविज्ञानका प्राध्यापक हु सियुन सन् २०२३ को ग्रीष्मऋतुमा आफ्नो मातृभूमिको भ्रमण गर्ने क्रममा सम्पर्कविहीन भएका थिए।
विद्यालयका प्रवक्ता योइची ताकामुराले एएफपीसँग भने, “जापानमा रहेका हुको परिवारले सन् २०२३ सेप्टेम्बरमा विश्वविद्यालयलाई पहिलो पटक सूचित गर्दै उहाँ अगस्टमा चीन गएदेखि सम्पर्कविहीन भएको जानकारी गराएको थियो। त्यसपछि उहाँले आफू जनवरी २४ मा जापान फर्केको बताउनुभयो,” ताकामुराले भने।
ताकामुराले भने, “विश्वविद्यालयले चीनमा रहँदा उहाँले के गरिरहनुभएको थियो भनी सोधपुछ गरेको तर उहाँले केही नबताएको जनाएको छ।”
विश्वविद्यालयको वेबसाइटका अनुसार हुले सन् २०१५ देखि विश्वव्यापी सञ्चार सङ्कायमा चिनियाँ भाषा, संस्कृति र समाजबारे कक्षा लिँदै आएका थिए।
“आगामी शैक्षिक सत्रका लागि हामी उहाँको भूमिकाको लागि समन्वय गरिरहेका छौँ,” ताकामुराले थपे।
हालैका बर्षहरूमा बेइजिङले विदेशमा रहेका आफ्ना नागरिकहरूमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ। ६४ वर्षीय हु हालैका वर्षहरूमा जापानबाट चीन जाने क्रममा हराएका चिनियाँ शिक्षाविद्हरूमध्ये एक हुन्।
जापान सरकारले सन् २०२४ को अप्रिलमा टोकियोमा अन्तर्राष्ट्रिय कानून र राजनीति पढाउने चिनियाँ प्राध्यापक फान युन्ताओ अघिल्लो वर्ष घर आएदेखि नै बेपत्ता भएको भन्ने समाचारको अनुगमन गरिरहेको बताएको थियो।
सन् २०१९ मा जापानको होक्काइडो युनिभर्सिटी अफ एजुकेसनका युआन केकिन पारिवारिक अन्त्येष्टिका लागि चीन गएका बेला बेपत्ता भएका थिए। एएफपी
प्रकाशित: १ चैत्र २०८१ १९:२८ शुक्रबार