अन्तर्राष्ट्रिय

अक्सफाम प्रतिवेदन : कमाउनेभन्दा कुम्ल्याउनेहरू नै बढी धनी

संसारभरका अर्बपतिहरूको सम्पत्ति गत वर्ष २० खर्ब डलरले बढेको छ। सन् २०२३ मा जुन गतिमा धनीहरूको सम्पत्ति वृद्धि भएको थियो, त्यसको तुलनामा २०२४ मा तीन गुणाले बढेको एउटा अध्ययनले देखाएको छ। अक्सफामले गरेको अध्ययनअनुसार धनीहरूको सम्पत्ति दैनिक पाँच अर्ब ७० लाख डलरका दरले बढेको हो।

अबको दशकमा संसारमा पाँचजना २० खर्ब डलर सम्पत्तिका मालिक बन्न पुग्ने आँकडाले देखाएको छ। यसअघिको अध्ययनमा १० वर्षभित्र जम्मा एकजना मात्र यसरी धनी हुने आकलन गरिएको थियो। अक्सफामले डाभोस सम्मेलनको ठिकअघि ‘टेकर्स नट मेकर्स’ शीर्षकको रिपोर्ट जारी गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेको हो। डाभोसको स्की रिसोर्टमा २० जनवरीदेखि सुरु भएको वर्ल्ड इकोनोमिक फोरमको सम्मेलनमा संसारभरका अति सम्पन्न धनीहरूले संसारको गरिबी तथा वातावरणमाथि चर्चा गरिरहेका छन्।

धनीमानीहरूको सम्पत्ति बढ्दै जाँदा संसारमा गरिबीको दर अझ बढेकोमा समेत अक्सफामले चिन्ता व्यक्त गरेको छ। विश्व बैंकले दैनिक ६.८५ डलर (साढे ९ सय रूपैयाँ) भन्दा कम आम्दानी गर्नेलाई गरिबीको रेखामुनि राखेको छ। यस्ता गरिबको अवस्था सन् १९९० यता विरलै परिवर्तन आएको छ। विश्वको ५५ प्रतिशत जनसंख्या अर्थात् ३ अर्ब ६० करोडको अवस्थामा परिवर्तन नआउनु दुःखद रहेको अक्सफामले बताएको छ। साथै १० जनामध्ये एकजना महिलाले त अत्यधिक दरिद्रताको अवस्थामा जीवन बिताइरहेका छन्। उनीहरूले दैनिक २.१५ (करिब तीन सय रूपैयाँ) मा गुजारा चलाइरहेका छन्। अक्सफामका अनुसार दुई करोड ४३ लाख महिलाको अवस्था ज्यादै दयनीय छ। 

संसारभर डलर अर्बपतिको संख्या बढिरहेको छ। अहिले संसारभर दुई हजार सात सय ६९ जना डलर अर्बपति छन्। गएको वर्ष मात्र दुई सय चारजना अर्बपतिहरूको सूचीमा थपिएको अक्सफामको दाबी छ। सबै अर्बपतिहरूको सम्पत्ति गएको एक वर्षमा १३ देखि १५ ट्रिलियनसम्म बढेको छ। अर्बपतिको सूचीमा रहेका शीर्ष १० धनीहरूको सम्पत्ति औसतमा दैनिक १० करोड डलरका दरले बढिरहेको छ। 

यस्तो अवस्थामा अमेरिकी अर्बपति राष्ट्रपति डोनाल्ड ट्रम्पको यस पटकका सल्लाहकारमा बढीजसो अर्बपतिहरू नै देखिएका छन्। संसारकै धनी इलन मस्क ट्रम्पका सल्लाहकार त भइहाले। यस पटक ट्रम्पको शपथग्रहण कार्यक्रममा पनि अर्बपतिहरूको भिड नै जम्मा भएको थियो। रिपोर्टले खर्बपतिहरूले जम्मा गरेको पैसा कमाएको नभई कब्जा गरेको भन्दै ६० प्रतिशत सम्पत्ति पारिवारिक विरासतबाट जम्मा गरेको बताएको छ। साथै उनीहरूले १८ प्रतिशत सम्पत्ति भने भ्रष्ट सरकारको कृपा र नातावादबाट कमाइ गरेको देखिएको छ।

अक्सफामले रिपोर्ट जारी गरेसँगै बेलायतमा बढ्दो अर्बपतिको संख्याले पनि चिन्ता बढाएको जनाएको छ। जी सेभेन मुलुकहरूमध्ये सबैभन्दा बढी डलर अर्बपति बेलायतमा छन्। सन् २०२४ को सूचीअनुसार बेलायतमा एक सय ६५ जना अर्बपति छन्। तिनले दैनिक साढे तीन करोड डलर कमाउँछन्। वर्षभरिमा बेलायती अर्बपतिहरूको आम्दानी एक सय ८२ बिलियन डलर रहेको अक्सफामले जनाएको छ।

केही सीमित व्यक्तिको आम्दानी यसरी चुलिनु मुलुक र सर्वसाधारणको जीवनकै लागि खतरनाक हुने अक्सफामकी एना मेरियटले रिपोर्टमा टिप्पणी गरेकी छन्। उनले भनेकी छन्, ‘यो तहको सम्पत्तिको असमानताले देशको र संसारकै पनि आर्थिक प्रणाली ध्वस्त भएको जनाउ दिन्छ। त्यसैले सरकारहरूले ती प्रणालीलाई उपचार गरी ठिक ठाउँमा ल्याउन आवश्यक छ।’ त्यसका लागि गतिलो आर्थिक नीति बनाई यो तहको असमानतालाई कम गर्न सकिने भन्दै उनले अतिधनीहरूलाई उच्च कर लगाउनुपर्नेमा जोड दिएकी छन्।

प्रकाशित: ९ माघ २०८१ ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App