अन्तर्राष्ट्रिय

ट्रम्पले सत्ता सम्हाल्नुअघि नै संसारभर भएको थियो हलचल

डोनाल्ड ट्रम्प ४७औं अमेरिकी राष्ट्रपति बनेर शपथ लिनुअघि नै उनको दोस्रो कार्यकालको विश्वव्यापी प्रभाव महसुस गरिएकोछ। जेरुसेलमदेखि किभ, लन्डन र ओटावासम्म उनको चुनावी विजय र नयाँ ट्रम्प अजेन्डाहरूले संसारभरका नेताले आफू र आफ्नो देशलाई ट्रम्प–प्रभाव कम पार्न के गर्न सकिन्छ भन्दै रणनीति बनाउन थालेका थिए।

बिबिसीका अनुसार ट्रम्पले आफ्नो दोस्रो कार्यकालको राष्ट्रपति बनेर ओभल अफिसमा बस्नुअघि नै मध्यपूर्वमा प्रभाव पारिसकेका छन्। ट्रम्प आउनुअघि नै इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले आफू वरपर सक्रिय रहेका हमास र हिज्बुल्लाहलाई उठ्नै नसक्ने गरी प्रहार गरेका छन्।

हमास र अन्य प्यालेस्टाइनी पक्षहरूलाई पनि ट्रम्पले शान्तिसम्झौताका लागि दबाब दिने नै छन्, त्यो दबाबका कारण इजरायल पनि युद्ध लडिरहन सक्ने अवस्थामा रहनेछैन। त्यसैले जनवरी २० अघि उसले निकै ठुलो मिहिनेत गरेर हिजबुल्लाह र हमासलाई लगभग निमिट्यान्न पार्ने गरी कारबाही गरिएको थियो। यस कारबाहीका दौरान ५० हजारभन्दा बढी प्यालेस्टाइनी सर्वसाधारणको पनि मृत्यु भइसकेको छ। अब ट्रम्पले गाजामा युद्धविराम सम्झौतालाई आफूले सफलतापूर्वक सम्पन्न गरेको दाबी गर्दै आफ्नो दोस्रो कार्यकाल सुरु गर्ने भएका छन्।

उता बेलायत पनि ट्रम्पबाट त्रस्त छ। अघिल्लो पटक ट्रम्प राष्ट्रपति कम, अन्तर्राष्ट्रिय जोकर बढी देखिन्थे। यसपटक भने उनी राम्रो तयारीका साथ आक्रामक अजेन्डाका साथ आएको आकलनका साथ बेलायतले आफ्नो सानो वरिष्ठ मन्त्रीहरूको समूह बनाएको छ। त्यो समूहले ट्रम्पको मुड बुझ्ने प्रयास गरिरहेको छ।

मुड बुझ्न सके ट्रम्पबाट फाइदा पनि लिन सकिने आकलनका साथ समूहले काम गरिरहेको छ। उता युक्रेनका सर्वसाधारण ट्रम्प राष्ट्रपति भएपछि रुससँग चाँडै सम्झौता भएर शान्ति फर्कने आशा गर्न थालेका छन्। सर्वसाधारण ट्रम्पले रुसलाई दबाब दिएको खण्डमा युद्ध रोकिने विश्वास गरिरहेका छन्। तर युद्ध स्थगनको मूल्य भने निकै चर्को पर्ने युक्रेनीहरूले अहिल्यै आकलन गरिसकेका छन्। युक्रेनको पक्षमा यो सम्झौता हुने सम्भावना उनीहरूले निकै कम देखेका छन्।

उता क्यानडामा ट्रम्पले करको दर बढाउन सक्ने सम्भावनाका साथ क्यानडेली सरकार तनावमा छ। यसै पनि त्यहाँ अहिले राजनीतिक रूपमा अस्थिरता छ। जस्टिन ट्रुडोले प्रधानमन्त्रीका रूपमा राजीनामा दिइसकेका छन् र उनको ठाउँमा नयाँ प्रधानमन्त्रीको नियुक्ति हुन सकिरहेको छैन। आगामी वर्ष क्यानडामा आम चुनाव हुँदै छ।

यस्तो अवस्थामा ट्रम्पले २५ प्रतिशतसम्म कर थप्ने बताइसकेका छन्। त्यसै पनि आर्थिक रूपमा जर्जर हुन लागेको क्यानडालाई यो करले घुँडा नै टेकाउने सम्भावना बढेर जानेछ। उता चीनको आर्थिक वृद्धि ५ प्रतिशतले बढेको छ। त्यसो त दशकौंदेखि चीनले वार्षिक १० प्रतिशतका दरले आर्थिक वृद्धि गरिरहेको अवस्थामा हाल ५ प्रतिशतको वृद्धि उति सशक्त त होइन तर विकसित मुलुकको आर्थिक वृद्धि शून्यदेखि एक प्रतिशत रहेको अवस्थामा उसको यो प्रगति लोभलाग्दो नै हो। यसैबीच यदि ट्रम्पले चिनियाँ सामग्रीमाथि पाँच सय अर्ब डलर बराबरको कर लगाए भने त्यसले उसलाई केही धक्का अवश्य लाग्नेछ। यसका लागि चीन पनि पहिलेदेखि तयारी अवस्थामा रहेको देखिन्छ।

प्रकाशित: ८ माघ २०८१ ०६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App