अन्तर्राष्ट्रिय

ट्रम्पको ‘ट्रम्प कार्ड’:आप्रवासी र आदिवासी

विश्वको शक्तिशाली मुलुक संयुक्त राज्य अमेरिकाका जनताले राष्ट्रपति निर्वाचनमा फेरि एकपटक डोनाल्ड ट्रम्पलाई अनुमोदन गरेका छन्। डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले दोस्रोपटक ह्वाइट हाउस यात्रा सुनिश्चित गरेका हुन्।

निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले अप्रवासीका पक्षमा वकालत गर्दै आए पनि स्वयं अप्रवासीको पुरापुर रोजाइमा परिनन्। आप्रवासीकै मत ट्रम्पका पक्षमा खसेकाले उनको विजय सम्भव भएको अमेरिकी समाजमा टिप्पणी भइरहेको छ।

ट्रम्पले इलेक्टोरल मतमा मात्रै होइन, लोकप्रिय मतमा पनि ह्यारिसभन्दा बढी मत प्राप्त गर्नुको सन्देश पनि यही रहेको समीक्षा भइरहेको छ। यसबाहेक पनि ट्रम्पको पार्टी रिपब्लिकनले सिनेटमा र हाउस अफ रिप्रेजेन्टेटिभमा पनि बहुमत पाएको छ।

ट्रम्पले जित हासिल गर्दा स्विङ मतदाता भएका पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलिनाजस्ता राज्यका मतदातालाई समेत आकर्षित गर्न सफल भएको देखिएको छ। विपक्षी डेमोक्रेटिक पार्टीकै वर्चस्व रहेका प्रभाव क्षेत्र क्यालिफोर्निया, न्यु जर्सी, मासाचुसेट्स, मेरिल्यान्ड, भर्जिनियाजस्ता प्रदेशका मतदाताको पनि ट्रम्पले मन जितेको नतिजाले देखाएको छ। विजय सुनिश्चित गर्न टेक्सस, फ्लोेरिडा, ओहाओ, पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलिना, हिदाओ, इन्डियाना, आयोवा, मिसिसिपी, मिजोरी, मोनाटा, साउथ डकोटा, भर्जिनियाजस्ता प्रदेशमा उनले मतदाताको मन जितेका छन्।

ट्रम्पले अमेरिकामा बढ्दो महँगी नियन्त्रण, आप्रावासीको गैरकानुनी प्रवेशलाई कडाइ गर्र्ने, विश्वका विभिन्न ठाउँमा भइरहेका युद्ध अन्त्य गर्ने, अमेरिका फस्र्ट (अमेरिका पहिलो) नीतिलाई प्रभावकारी बनाउनेलगायत अजेन्डा निर्वाचनका क्रममा अमेरिकी मतदातासमक्ष राखेका थिए। यी अजेन्डा निर्वाचनमार्फत मतदाताले अनुमोदन गरेको टिप्पणी भइरहेको छ।

ह्यारिसलाई आप्रवासी, काला जाति, महिलालगायत अल्पसंख्यक मतदाताले मतदान गर्न सक्ने अनुमान थियो। तर त्यसविपरीत यस्ता मतदाताको रोजाइमा पनि ट्रम्प नै परेको अमेरिकामा रहेको नेपाली समुदायको बुझाइ छ।

अमेरिकाको निर्वाचन नजिकबाट नियालेका गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका नेता हरिबोल भण्डारी ट्रम्पले उठाएका यी मुद्दामा अमेरिकी जनताले सहर्ष स्वीकार गरेको बताउँछन्।

‘अमेरिकी जनताले महँगी, विभिन्न स्थानका युद्ध, गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्नेका रोकजस्ता ट्रम्पका अजेन्डाका पक्षमा मतदान गरेका छन्,’ उनी भन्छन्, ‘ट्रम्पले चुनाव जित्दा रुस–युक्रेन युद्ध तुरुन्तै अन्त्य हुने कुरा धेरैले विश्वास गरेको पाइन्छ।’

भण्डारीको बुझाइमा ट्रम्पको जितले नेपाललाई पनि फाइदा हुने देखिन्छ। ट्रम्पको सम्बन्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राम्रो रहेकाले त्यो सम्बन्ध नेपालको हितअनुकूल नै हुन सक्ने उनी बताउँछन्। यस्तै नेपालजस्ता देशबाट शरणार्थीका रूपमा अमेरिका आउन चाहने अवैध आप्रवासी नियन्त्रण गर्ने ट्रम्पको कडा नीति पनि नेपाल अनुकूल नै हुने भण्डारीको बुझाइ छ।

‘अवैध आप्रवासी नियन्त्रण हुँदा नेपालको हित नै हुन्छ,’ उनी भन्छन्, ‘यसरी जाने नेपालीका कारण नेपाललाई कहीँ न कहीँ क्षति नै पुगेको छ। त्यो रोकिँदा फाइदा हुने नै भयो।’ यस्तै ट्रम्पको जितले रुस–युक्रेन युद्ध रोकिने अवस्था आए पनि नेपाललाई फाइदा हुने भण्डारी बताउँछन्। यी दुई देशको युद्ध थामिँदा नेपालमा अकासिएको महँगी नियन्त्रण हुने, अर्थतन्त्रको समस्या समाधानमा सहयोग पुग्ने उनको बुझाइ छ।

अमेरिका कर्मथलो बनाएका र अमेरिकी निर्वाचन नजिकबाट नियालिरहेका पत्रकार रामचन्द्र भट्ट ट्रम्पको विजयले अमेरिका अझै उदारवादी, समावेशी बन्न नसकेको देखाएको टिप्पणी गर्छन्। ‘अमेरिकी समाज अझै पनि आफ्नो शासन प्रणालीमा महिलामैत्री देखिएन। अमेरिकाले पहिलेको जस्तो विश्वमा उदारवादी प्रवृत्तिको नेतृत्व गर्न नसकेको पनि देखियो,’ उनी भन्छन्।

ट्रम्पको दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने चर्चा भएसँगै उनले अर्थतन्त्र सुधार, आपवासी नीति कडा बनाउने, ऊर्जा तथा विदेश नीतिमा अमेरिका फस्र्ट नीति लिने घोषणा गरिसकेका छन्। ट्रम्पले सीमा नियन्त्रणलाई अझ बलियो बनाउने र त्यसका लागि सीमामा पर्खाल लगाउने योजनालाई पुनः प्राथमिकता दिने र गैरकानुनी आप्रवासन नियन्त्रण गर्ने योजना अघि बढाउन सक्ने देखिएको छ।

ट्रम्पको अमेरिका फस्र्ट अर्थात् अमेरिका पहिले नीति अवलम्वन गर्दा चीन, इरान र उत्तर कोरियासँगको सम्बन्धमा कडा र स्पष्ट नीतिहरू अपनाउन सक्ने आकलन गरिएको छ। चीनसँग आर्थिक र सैन्य प्रतिस्पर्धालाई मुख्य चुनौतीका रूपमा अमेरिकाले लिँदै आएको छ। यसैले यो सम्बन्धमा पनि केही कठोर नीतिहरू अघि बढाउन सक्ने धेरैको अनुमान छ।

प्रकाशित: २३ कार्तिक २०८१ ०७:४१ शुक्रबार

# Trump's 'Trump Card': Immigrants and Indigenous Peoples #United States of America is the most powerful country in the world