अन्तर्राष्ट्रिय

इमरान खानको विवाह अदालतद्वारा खारेज, थप ७ वर्षको जेल सजाय

पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रीमति बुशरा बीबीको विवाहलाई रद्द गरिदिएको छ।

बिबिसीका अनुसारअदालतले पूर्व प्रधानमन्त्री खान र उनकी श्रीमति बुशरा बीबीबीच २०१८ मा भएको विवाह गैर इस्लामी र अवैध रहेको भन्दै विवाहलाई नै खारेज गरिदिएको हो। साथै अदालतले अवैध विवाह गरेकोले दुबै जनालाई ७ वर्षको जेल सजाय पनि सुनाएको छ।

इमरान खानविरुद्ध बुशराका पूर्व श्रीमानले मुद्दा दायर गरेका थिए।

इस्लामी कानूनका अनुसार महिलामाथि आफ्नो श्रीमानको मृत्यु वा सम्बन्धविच्छेद भएको केही महिनासम्म विवाह गर्न नपाईने व्यवस्था छ। तर, बुशरा बीबी र इमरान खानको विवाह उक्त कानून विपरित रहेको पाइएको अदालतको फैसलामा उल्लेख गरिएको छ।

इमरान खान भ्रष्टाचार मामिलामा हाल सजाय भोगिरहेका छन्।

उनलाई इस्लामावाद अदालतले भ्रष्टाचार मुद्दामा १४ वर्ष र राष्ट्रिय सूचना सार्वजनिक गरेको मुद्दामा १० वर्षको जेल सजाय सुनाइसकेको छ। 

प्रकाशित: २१ माघ २०८० ०७:१५ आइतबार

पाकिस्तान पूर्व प्रधानमन्त्री इमरान खान इमरान खान विवाह रद्द