अन्तर्राष्ट्रिय

रूस अमेरिका सम्बन्ध जटिल : पुटिन

 मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस अमेरिकाको कुटनीतिक सम्बन्धले जटिल मोड लिएको बताएका छन् ।

गत वर्ष  अमेरिकामा सम्पन्न राष्ट्रपतीय  निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारिएको भनिएका  केही राजनीतिकर्मी तथा व्यापारीहरूको नामावलीको सूची अमेरिकाले सार्वजनिक गरेकोमा राष्ट्रपति पुटिनले आक्रोश व्यक्त गर्दै यस्तो बताएका हुन् ।

ती व्यक्तिहरूको नामावलीको सूचीलाई अमेरिकाले पुटिन सूची भन्दै सार्वजनिक गरेको छ । ती व्यक्तिहरूको सूचीमा परेका अधिकांश राष्ट्रपति पुटिनका सहयोगी रहेको खुलासा  समेत अमेरिकाले गरेको छ ।
अमेरिकाको एफबिआई उपनिर्देशकले पद त्याग गरेकै दिन अमेरिकाले ती व्यक्तिहरूको नामावली सार्वजनिक गरेको थियो ।

अमेरिकाले सार्वजनिक गरेको उक्त सूचीमा रूसका व्यापारी  तथा राजनीतिकर्मी सहित २१० को नामावली सार्वजनिक गरिएको छ । राष्ट्रपति पुटिनले ट्रम्पले उक्त नामावली सार्वजनिक गरेर रूस अमेरिकाको कुटनीतिक सम्बन्ध जटिल बनाएको बताएका छन् ।

प्रकाशित: १७ माघ २०७४ ०६:२३ बुधबार

रूस अमेरिका सम्बन्ध जटिल पुटिन