अन्तर्राष्ट्रिय

मदिराका लागि २५ हजारमा आफ्नै छाेरा बेच्ने बाबु पक्राउ

ओडिसा – सुन्दै अचम्म लाग्छ ! मोबाइल, रक्सी र कपडाका लागि कसैले आफ्नै सन्तानलाई बेच्न सक्छ भनेर । केही समय अगाडि मात्रै आइफोनका लागि चीनका एक युवकले आफ्नै किड्नी बेचेको खबर आएको थियो । अहिले भने मोबाइललगायतका सामान किन्नका लागि बाबुले आफ्नै बच्चा बेचेको खबर बाहिरिएको छ । भारतका एक बाबुले रक्सी, मोबाइल र कपडाका लागि आफ्नै छोरालाई बेचेका छन्। 

ओडिसा राज्यको भादरक जिल्लाका एक मासिनलाई मोबाइल, चाँदीको कल्ली र रक्सी किन्नका लागि आफ्नै एक महिनाको छोरालाई केबल २५ हजारमा बेचेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेपछि यस विषय बाहिरिहएको छ। 
बलराम मुखी नाम गरेका ती मानिसले केबल २५ हजारका लागि आफ्नै छोरा बेचेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छोरा बेचेर आएको २५ हजारबाट मुखीले दुई हजार मोबाइल किन्न, एक हजार पाँच सय उनको सात वर्षीय छोरीको लागि चाँदीको कल्ली र श्रीमतीको लागि एउटा साडी किन्न खर्च गरेको र बाँकी पैसा रक्सीमा खर्च गरेको प्रहरीले जनाएको छ । आफ्नै बच्चा बेचेको आरोपमा मुखी पक्राउ परेपनि प्रहरीले उनकी श्रीमती सुकुटीलाई पनि अनुसन्धानको घेरामा राखेको बताइएको छ । यो जोडीको बेचिएको ११ महिने छोरा बाहेक १० वर्षे अर्को पनि छोरा रहेको बताइएको छ । भादरक जिल्लाका प्रहरी सुपरिटेन्डेन्ट अनुप साहुका अनुसार मुखीको कुनै नियमित आर्थिक स्रोत रहेको थिएन । उनी कुचीकारका रुपमा काम गर्ने र जाँड रक्सीको कुलतमा फसेको साहुले बताएका छन् । प्रहरीका अनुसार मुखीका सालो बालिया र घरायसी काम गर्ने अर्की एक महिला पनि बालक बेच्नमा संलग्न रहेका थिए।  

उनीहरुले बालबच्चा नभएको ६० वर्षे दम्पत्ती भेटेपछि बालक बेचेर पैसा लिएका थिए । त्यसरी बच्चा किन्ने व्यक्ति राज्य सरकारमा चालकका रुपमा कार्य गरेर अवकाश लिएका सोमथान सेट्टी भएको बताइएको छ । सेट्टी दम्पत्तीले आफ्नो २४ वर्षे छोरा सन् २०१२ मा गुमाएका थिए। 

‘आफ्नो एक मात्र सन्तान गुमाएपछि सेट्टीकी पत्नी डिप्रेसनको शिकार भएकी छिन् । श्रीमती बिरामी भएपछि सेट्टीले आफ्ना साथीभाईलाई कसैको बच्चा गोद लिने भन्दै खोजिदिन आग्रह गरेका थिए,’ भादरक टाउन प्रहरी चौकीका इन्स्पेक्टर प्रमुख मनोज रोउटले जानकारी दिएका छन् । प्रहरीका अनुसार बालक किन्ने दम्पत्तीलाई पनि अनुसन्धान गरिनेछ । स्यारसुसारको काम गर्ने एक महिलाले सेट्टी दम्पत्तीलाई चिनेकी थिइन् । उनैले नै मुखी र उक्त दम्पत्तीबीचमा सम्झौता गराएको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ। 

‘मेरा पति मातिएको अवस्थामा थिए । उनले बच्चा अवैध भएकाले आफूले राख्न नसक्ने भन्दै अरुलाई नै दिने बताएका थिए,’ बेचिएका ११ महिने बालकको आमाले बताएकी छिन् । उनले पतिको उक्त भनाइलाई विरोध गर्दै अहिले नै दुई वटा छोराछोरीलाई हेरविचार गरिरहेको र तेस्रोलाई पनि गर्नसक्ने पति समक्ष प्रस्ताव राखेको बताइन् । ‘मैले यस्तो भनेपछि मेरा पतिले मलाई कुटपिट गरे । मलाई कुटपिट गरेपछि मैले पनि उनलाई पिटे । तरपनि मेरो पतिले २५ हजारमा बालकलाई बेचे । बच्चा बेचेको पैसाले उनले मोबाइल, कपडा, चाँदीको कल्ली आदि किने,’ सञ्चारमाध्यमसँग उनले बताइन् । बालक बेचेको आरोप लागेका बाबुले भने आफू र आफ्नो श्रीमती दुवै रक्सीले मातिएको अवस्थामा रहेको र वादविवाद भएपछि एक अर्कालाई पिटेको बताएका छन् । उनले झगडाकै बीचमा बच्चा उठाएर लगेको र बेचेको स्वीकार गरेका छन्।  

 

प्रकाशित: १ आश्विन २०७४ ०४:३८ आइतबार

मदिराका लागि २५ हजारमा आफ्नै छाेरा बेच्ने बाबु पक्राउ