अन्तर्राष्ट्रिय

१४० वर्षपछि वेइजिङमा भीषण वर्षा, २० जनाकाे मृत्यु

चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन्।  

बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर  वर्षा भएको छ।।  सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो।  

राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन्। वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो। राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन्।

वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ। अधिकारीहरूले जोखिमसूचक तहबाट पानीको सतह तल झरेको बताएका छन्। साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन्।  

बाढीपहिरामा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन् भने केयौँ घाइते भएका छन्। राजधानीका एक लाख बाढीपीडितको उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको थियो। साथै उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए। उद्धारका क्रममा मङ्गलबार दुई जनाले बेइजिङमा ज्यान गुमाएका बताइएको छ। 

प्रकाशित: १७ श्रावण २०८० ०७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App