अन्तर्राष्ट्रिय

कारबम विस्फोटमा ३९ व्यक्तिको मृत्यु

मोगादिसु—सोमालियाको राजधानी मोगादिसुमा आइतबार भएको आत्मघाती बम विस्फोटमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३९ पुगेको छ। उद्धारकार्यमा लागेका उद्धारकर्मीले सो जानकारी दिएका हुन्। यसै महिनामा नयाँ राष्ट्रपति निर्वाचन भएयता यो पहिलो ठूलो आक्रमण भएको बताइएको छ।

आत्मघाती आक्रमणमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३९ पुग्नुको साथै अन्य २७ जना घाइते भएका मोगादिसु आमिन एम्बुलेन्स सेवाका अधिकारीले जानकारी दिएका छन्।

मदिना जिल्लाको छिमेकमा पर्ने एक व्यस्त बजारको चौबाटोमा विस्फोटक पदार्थले भरिएको आत्मघाती कारबम आइतबार विस्फोटन गराइएको थियो। आइतबार नै कम्तिमा १४ व्यक्तिको मृत्यु भएको जानकारी अधिकारी तथा प्रत्यक्षदर्शीले दिएका थिए। 

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन्। साधारणतया सोमालियाको सबाब जिहादी समूहले नै यस्तो आक्रमण गराउँदै आएको र नयाँ सरकारविरुद्ध पनि बारम्बार धम्की दिँदै आएका हुनाले यसै समूहले यो आक्रमण गराएको अनुमान छ। 

प्रधानमन्त्री मोहमद अब्दुल्लाही मोहमद निर्वाचित भएपछि सोमालियाको राजधानीमा भएको यो सबैभन्दा ठूलो विस्फोट हो। गत साता शासन हस्तान्तरण भएपछि अल सबाब इस्लामीहरूले मोर्टार विस्फोट गराएको दाबी गरिएको छ। 

यस आत्मघाती आक्रमणमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३९ पुग्नुको साथै अन्य २७ जना घाइते भएका मोगादिसु आमिन एम्बुलेन्स सेवाका अधिकारीले जानकारी दिएका छन्। रासस/एएफपी

प्रकाशित: १० फाल्गुन २०७३ ०८:२६ मंगलबार

कारबम विस्फोटमा ३९ व्यक्तिको मृत्यु