अन्तर्राष्ट्रिय

राष्ट्रपतिको कार्यालयमा भियाग्राका गोली !

सोल– भ्रष्टाचार आरोपमा राजीनामाको दबाब खेपिरहेकी दक्षिण कोरियन राष्ट्रपति पार्क गुयन हाई अर्को विवादमा फसेकी छिन् । राष्ट्रपतिको कार्यालयमा भियाग्रा भेटिएपछि आलोचकले पार्कको आलोचनाका लागि थप नयाँ विषय पाएका हुन् । कोरियन समाचार माध्यममा अहिले पार्कको कार्यालयमा ४ सय भियाग्रा पाइएको समाचारले प्राथमिकता पाएका छन । भियाग्रा कामोत्तेजना बढाउन पुरुषले प्रयोग गर्दै आइरहेको दबाई हो । राष्ट्रपति कार्यालयले हल्लाको खन्डन गरेको छ । राष्ट्रपतिका प्रवक्ताले भियाग्रा किनेकी स्वीकार गरेपनि यसको प्रयोग नगरेको बताएका छन् ।

‘भियाग्राका ४ सय गोली किनेको साँचो हो । पूर्वी अफ्रिका भ्रमणका क्रममा उचाईका कारण हुने बिरामीको रोकथामका लागि दबाई किनिएको हो । तर दबाईको प्र्रयोग भएन,’ प्रवक्ताले बताएका छन् ।
राष्ट्रपति पार्कलाई उनले गर्ने राजनीतिक निर्णयका पछाडि उनका पूराना पुरुष मित्रको हात रहने गरेको चर्चाबीच सार्वजनिक भएको भियाग्रा कान्डले उनीहरुको सम्बन्ध थप रहस्यमय बनाएको हो ।
राष्ट्रपतिले खाने पिउनेदेखि लगाउने कुरामा पनि यस्ता एक पुरुष मित्रको प्रभाव रहने गरेको चर्चा छ ।
राष्ट्रपतिको कार्यालयमा भियाग्राको चर्चाले आम मानिसमा जति रोमान्चकता थपेको छ, यसको उत्पति कथा पनि कम रोचक छैन ।

मुटुसँग जोडिएको दबाई बनाउने क्रममा गरिएको टेस्टमा यो औषधी असफल भएपछि यसको उत्पादन गर्न लागेको कम्पनीले बन्द गरेको थियो । तर यसको अनुसन्धानसँग जोडिएका मानिसले चाँजका लागि औषधीको सेवन गर्दा कामोत्तेजना बढेको पाएपछि यसको नयाँ प्रयाग थालेका थिए ।
हरेक दशमा आठ पार्क विरुद्धः सर्वेक्षण

सोल, मंसिर ९ (एजेन्सी)– दक्षिण कोरियामा राष्ट्रपति पार्क गुयन हाई भ्रष्टाचार काण्डमा मुछिएपछि उनको राजनीनामा माग गर्दै सडकमा प्रदर्शनहरु भइरहेका छन् भने उनमाथि महाभियोग प्रस्तावको चर्चा पनि छलफलमा आएको छ ।

यसैबीच दक्षिण कोरियामा हालै गरिएको सर्वेक्षणमा पार्क विरुद्ध महाभियोग लगाउनुपर्ने वा पार्कमाथि महाभियोगको विषय अनावस्यक भन्ने मुद्दामा लिइएको सर्वेक्षणमा हरेक १० जना कोरियालीमध्ये आठ जनाले पार्कलाई महाभियोग लगाउनु पर्ने बताएको सर्वेक्षणले जनाएको छ ।

पछिल्ला केही हप्तामा राष्ट्रपति पार्क विरुद्ध विशाल जुलुस निकाली उनले छिट्टै राजीनामा गर्न दवाव दिइरहेका समयमा यसै हप्ता गरिएको सर्वेक्षणले पार्कलाई महाभियोग लगाइनुपर्ने पक्षमा करिव ७९.५ प्रतिशत कोरियाली नागरिकको मत अभिव्यक्त भएको स्थानीय सर्वेक्षण निकाय रियलमिटरले बिहीबार जनाएको छ ।

त्यसैगरी ६०.३ प्रतिशत मानिस महाभियोगको पक्षमा कडारुपमा उभिएको बताइएको छ । यद्यपि दक्षिण कोरियाली राष्ट्रपति पार्कलाई महाभियोग लगाउन नहुने र यसबाट देशमा अस्थिरता निम्तिने खतरा भएको भनी करिव १४.६ प्रतिशत सहभागीले आफ्नो मत व्यक्त गरेको रियलमिटरले जनाएको छ ।

गत हप्ता लिइएको सर्वेक्षणले पार्कमाथि महाभियोग लगाउने पक्षमा ७३.७ प्रतिशत नागरिक देखिएका थिए । गत हप्ता राष्ट्रपतिले स्वविवेकमा राजिनामा दिनुपर्ने वा उनलाई महाभियोगद्वारा हटाउने भनी गरिएको सर्वेक्षणमा ७३.७ प्रतिशत नागरिक बलपूर्वक पार्कलाई हटाउनुको विकल्प नभएको जनाएका थिए ।

दक्षिण कोरियाली राष्ट्रपति पार्क विरुद्ध सर्वत्र विरोध उठिरहेको बेला र कोरियाली संसदमा समेत यस विषयमा व्यापक विरोध आइरहेका बेला पार्केले भने बुधबार जापानसँग सेनाको गुप्तचर संस्थासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेकी छिन् ।

प्रकाशित: १० मंसिर २०७३ ०४:०९ शुक्रबार

राष्ट्रपतिको कार्यालयमा भियाग्राका गोली