अन्तर्राष्ट्रिय

प्रहरीको कारबाहीमा फिलिपिन्सका मेयरसहित नौको मृत्यु

किदापावान (फिलिसिन्स)- फिलिपिन्स प्रहरीले लागू औषधविरुद्ध जारी राखेको कारबाहीको क्रममा एक फिलिपिनी मेयर र उनका सहयोगीसहित नौ जनाको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

फिलिपिन्सका राष्ट्रपति रोद्रिगो डुतेर्टेले लागू औषध ओसारपसार विरुद्ध भीषण कारबाही जारी राख्ने चेतावनी दिनुभएको केही घन्टापछि नै सो कारबाही भएको जनाइएको छ।

दक्षिणी सहर साउदी आम्पातुआनका मेयर सम्सुदिन दिमाउकोम सो कारबाहीको क्रमको मारिएका हुन।

यसै वर्षको सुरुमा राष्ट्रपति डुतेर्टेले लागू औधषको गैरकानूनी व्यापारमा सङ्लग्नता रहेका सरकारी अधिकारीहरु, प्रहरी तथा न्यायधिससमेत गरी १५० भन्दा बढीको पहिचान गरेका थिए।  ती १५० मध्ये नै मेयर दिमाउकोम पनि रहेका थिए।

राष्ट्रपति डुतेर्टेले जारी राखेको लागू औषध विरुद्धको कारबाहीको क्रममा हालसम्म तीन हजार ८०० भन्दाबढी व्यक्तिको मृत्यु भइसेकेको छ।

प्रहरी प्रवक्ता रोमेओ गाल्गोका अनुसार मेयर दिमाउकुम र उनका सुरक्षा अधिकारीले लागू औषधविरुद्ध कारबाहीमा लागेका प्रहरीमाथि नै गोली प्रहार गरेका थिए ।

सरकारी सुरक्षा अधिकारीले जाँचचौकीमा मेयर र उनका समूहको सवारी साधान रोकेर जाँच गर्न खोज्दा उनीमाथि नै गोली प्रहार गरेको बताइएको छ।

गत मेमा भएको निर्वाचनबाट रोद्रिगो डुतेर्टे राष्ट्रपति पदमा आएपछि लागू औषध ओसारपसार विरुद्ध भीषण कारबाही सुरु गरेका थिए।रासस/एएफपी

 

प्रकाशित: १२ कार्तिक २०७३ १०:२७ शुक्रबार

प्रहरीको कारबाहीमा फिलिपिन्सका मेयरसहित नौको मृत्यु