स्वास्थ्य

धादिङमा दैनिक डेंगीकाे बिरामी अस्पताल भर्ना

जिल्ला अस्पताल धादिङमा दैनिक डेंगीका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन्। एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेंगीका बिरामी उपचार गर्न आउने गरेका छन्। 

लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेंगी पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए। 'दैनिक १०–१२ जनामा डेङ्गु देखिने गरेको छ, त्यसमध्ये पाँचभन्दा बढी बिरामी अस्पताल भर्ना भइरहेका छन्', उनले भने। 

बिहीबारसम्म धादिङ अस्पतालमा नौ डेंगीका बिरामी भर्ना भएका छन्। सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा राखिएको  विकले जानकारी दिए। सरकारी अस्पतालले मात्रै साउनयता एक सय ४८ जनामा डेंगी पुष्टि गरेको छ। नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको सङ्ख्या यकिन छैन।

धादिङ अस्पतालमा हरेक दिन बिहानैदेखि डेंगीका बिरामी बहिरङ्ग कक्ष (ओपिड) मा लाइन लाग्ने गरेका अस्पतालका आकस्मिक कक्ष प्रमुख डा दिनेश रेग्मीले बताए। ज्वरो आउने, असाध्यै टाउको दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने लगायत लक्षण देखिएपछि सर्वसाधारण अस्पताल आउने गरेका छन्। अस्पतालमा शय्या अपुग हुने अवस्था आएको रेग्मी बताए।

प्रकाशित: २४ भाद्र २०७९ ०४:०९ शुक्रबार

धादिङमा दैनिक डेंगी बिरामी डेंगी बिरामी