स्वास्थ्य

नोबेल मेडिकल कलेजमा तोडफोड

विराटनगर स्थित नोबेल मेडिकल कलेजमा तोडफोड भएको छ। चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क लिएको बिरोधमा प्रदर्शन गर्दै आएका विद्याथीले र कलेजका सुरक्षागार्डबीच सोमबार झडप हुँदा मेडिकल कलेजमा तोडफोड भएको हो।

दुई पक्षबीचको झपडका क्रममा अस्पतालभित्रको फार्मेसी, मेडिकल कलेजका झ्याल, ढोकाका सीसा फुटेका छन्। यस्तै मेडिकल कलेजका २ वटा कम्प्युटर, प्रिन्टरमा पनि क्षति पुगेको कलेज प्रशासनले जनाएको छ। आन्दोलनरत विद्यार्थीहरूले कलेज प्रशासनमा लगाइएको तालाबन्दीको अवस्था हेर्न जाने क्रममा कलेजका सुरक्षा गार्ड र विद्यार्थीबीच घम्साघम्सी भएको थियो। कलेजका सुरक्षा गार्डले कलेजभित्र प्रवेश गर्ने खोज्ने विद्यार्थीलाई भाटाले हिर्काउँदा केही विद्यार्थी नेताहरू घाइते भएका छन्।

समाजवादी विद्यार्थी यूनियनका साहिल झा, अखिल क्रान्तिकारीका टेकेन क्षेत्री, उमेश सेन्चुरीलगायतका विद्यार्थी नेताहरू घाइते भएको अनेरास्ववियुका जिल्ला सदस्य नवीन पहाडीले जानकारी दिए। यसैबीच झडप नियन्त्रण गर्नेक्रममा ३ जना प्रहरी पनि घाइते भएका छन्। कोरोनाको तेस्रो लहर ओमिक्रोन भेरिएन्ट समुदायस्तरमा फैलिसकेको अवस्थामा आन्दोलन गर्दा संक्रमण फैलिने जोखिम बढेकाले नोबेल कलेजविरुद्धको आन्दोलन स्थगित गर्न जिल्ला प्रशासन कार्यालय मोरङले विद्यार्थीहरूलाई आइतबार नै निर्देशन दिएको थियो।

मोरङका प्रमुख जिल्ला अधिकारी काँसिराज दाहालले पत्र पठाएर नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विषयमा अनुसन्धान गरी कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढिसकेकोले आन्दोलन स्थिगित गर्न निर्देशन दिएका थिए। तर, विद्यार्थीहरूले माग पूरा नभई  आन्दोलन नरोक्ने बरु अझ शसक्त बनाउने चेतावनी दिँदै सोमबार जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशन उल्लङ्घन गरी सिठी जुलुस प्रदर्शन गरेका थिए।

प्रकाशित: १० माघ २०७८ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App