स्वास्थ्य

वीरगन्ज नाकामा एकै दिन ६ जना संक्रमित फेला

कोरोना तेस्रो लहरको आगमनको संकेत

बिहीबार वीरगन्ज नाकामा एकै दिन ६ जना यात्रुमा कोरोनाको संक्रमण फेला परेको छ। नयाँ स्वरुप (भेरिएन्ट)सहितको तेस्रो लहरमा विश्वका विभिन्न मुलुकमा संक्रमण बढिरहेको बेला त्यसको आगमनको संकेतको रुपमा चिकित्सकहरुले यसलाई लिएका छन्। अहिले फेला परेको संक्रमणमा भाइरसको ‘भेरिएन्ट’ यकिन हुन बाकी रहे पनि सतर्कता अनिवार्य रहेको चिकित्सकहरुको राय छ।  

‘पुसको पहिलो सातादेखि सिमामा भइरहेको यात्रुहरुको परिक्षणको क्रममा प्रतिदिन २ देखि ३ सम्म संक्रमित संक्रमण फेला परिरहेकोमा आज (बिहीवार) दुई सय ७० जनाको परीक्षण गर्दा एकै दिन ६ जनामा संक्रमण भेटिएको हो,’ सिमास्थित स्वास्थ्य कक्ष कि चिकित्सक डा. अमिसा महतोले नागरिकलाई भनिन्, ‘कोलकताबाट आउने यात्रुहरुमा मुख्य रुपमा कोरोना भेंटिरेहको छ, १४ वर्ष कि बालिका र १६ वर्षका किशोर गरी २ जना संक्रमित बिहारको मोतिहारीका थिए, अहिलेसम्म भारतबाट स्वदेश फर्किरहेका पाँच जना नेपालीहरुमा यसरी संक्रमण फेला परेको छ, बाकी २० भारतीयहरु हुन्।’

सिमामा कोभिड एन्टीजेन परीक्षण हुने गरेको छ। संक्रमित भारतीयहरुलाई सिमास्थित नेपाल प्रहरीले भारतकै प्रहरीको जिम्मा लगाईदिने गरेको छ। नेपालीहरुलाई होम आइसुलेशनमा पठाउने गरिएको डा. महतोले बताइन्।

हालसम्म फेला परेका सबै संक्रमितहरुमा अधिकांशमा लक्षण नदेखिने र केहीमा सामान्य लक्षण देखिने गरेको छ। लक्षण नभएका कारण अस्पतालभन्दा होम आइसुलेशनमा पठाउने गरिएको उनले जनाइन्। डा. महतोका अनुसार सिमामा फेला परेका संक्रमितहरु २५ मध्ये २ किशोरकिशोरी बाहेक २३ जनाले दुई पटकको कोरोना खोप लगाईसकेका व्यक्तिहरु थिए।

यता वीरगन्जको नारायणी अस्पतालमा पनि पुस लागेयता हरेक २ दिनमा २ देखि ४ जनासम्म कोरोना संक्रमित परीक्षणको क्रममा फेला परिरहेको अस्पतालका डा. उदयनारायण सिंहले बताए। यहाँ पनि संक्रमितहरुमा अधिकांशमा लक्षण नदेखिने र केहीमा सामान्य लक्षण देखिने गरेको उनले बताए। ‘खताराको कुरा वा चुनौति यही हो, यसपालि लक्षण त्यति देखिएको छैन, जसको कारण मानिसहरु जाँचै नगराई संक्रमण लिएर निर्धक्क हिँडेको हुन सक्छन्, यसले संक्रमण तीब्र रुपमा फैलिने जोखिम उच्च छ,’ डा. सिंहले भने, ‘अधिकांशलाई लक्षण नहुने वा समान्य लक्षणसम्म मात्र भए पनि सकैको लागि यो घातक पनि हुन सक्छ।’

यसबीचमा फेला परेको संक्रमितमध्ये पनि एक जनामा कडा खाले लक्षण देखिएकोले अस्पताल भर्ना गर्न परेको सिंहले बताए। त्यो व्यक्तिलाई निमोनियाले ग्रसित पारेको उनले बताए। भारतबाट फर्किनेहरुमा संक्रमणको जोखिम अधिक रहेको अहिलेसम्म देखिएको छ। गत पुस १६ मा भएको परीक्षणमा एकसाथ ३ जनामा संक्रमण फेला पर्यो।

तीनैजना भारतको राजधानी दिल्ली पुगेर फर्केका थिए। भारतको दिल्लीसहित ठूला सहरहरु हुँदै संक्रमण साना ठाउँहरुमा पनि फैलिरहेको छ।

प्रकाशित: २२ पुस २०७८ १३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App