स्वास्थ्य

कोरोनाविरुद्धको खोप: अभाव हुँदा माग्नेको तँछाडमछाड, पर्याप्त हुँदा आउँदैनन् कोही

स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर अधिकृत गंगाधर पण्डित पोहोर यतिबेलातिर निकै तनावमा थिए। कोरोनाको दैनिक विवरण त अद्यावधिक गर्नैपर्थ्यो, भर्खर सुरु हुँदै गरेको कोरोनाविरुद्धको खोप व्यवस्थापन चाहिँ निकै चुनौतीपूर्ण थियो।

एकातिर खोपको हाहाकार, अर्कातिर मापदण्डमा नपरेपनि खोप माग्न आउनेको भिड। ‘फलानालाई जसरी भएपनि एक डोज खोप लगाइदिनू’ भनेर आउने दबाब झनै थामिनसक्नु। सीमित संख्याको खोप, सरकारले तोकेको खोप पाउने व्यक्तिको प्राथमिकता सूूची। ‘एक सय खोप आयो भने माग्ने मान्छे हजारभन्दा बढी नै हुन्थे होला,’ उनले सम्झिए, ‘खोप लगाउनेको प्राथमिकता सूची कुुल्चिएर खोप लगाइमाग्ने र लगाउन दबाब दिने उत्तिकै। निकै समस्या थियो त्यतिबेला।’

तर, अहिले ठीक उल्टो छ। कार्यालयमा मात्र नभई जिल्लाका १० वटै पालिकाका केन्द्रहरूमा समेत कोरोनाविरुद्धको खोप पर्याप्त छ। विडम्बना, खोप लगाइमाग्ने मान्छे कोही आइदिँदैन। ‘पहिला खोप थिएन, लगाइमाग्नेको भिड थियो, अहिले खोप पर्याप्त छ, लगाइमाग्न कोही आउँदैनन्,’ उनले सुनाए।

स्वास्थ्य कार्यालय नजिकै रहेको इलाम अस्पतालमा अहिले कोरोनाविरुद्धको खोप नियमित सञ्चालन भइरहेको छ। कसैले खोप लगाउन चाहे अस्पताल पुग्दा हुन्छ। तर, पोहोर माघ–फागुनदेखि असार–साउनसम्म खोपकेन्द्रमा भएको तँछाडमछाड अहिले शून्यझैं छ। पोहोर कतिपय केन्द्रमा खोप लगाउनकै लागि झगडा, वादविवाद र तनावसमेत भयो। अहिले चाहिँ ‘कोरोविरुद्धको खोप पाइन्छ कि पाइँदैन’ भनेर सोध्नसम्म कोही आउँदैन।

‘इलाम अस्पतालमा अहिले कोरोना भाइरसविरुद्धको खोप नियमित चलिरहेको छ,’ उनले भने, ‘पालिकाका केन्द्रमा पनि दिनैपिच्छे खोप सञ्चालन गर्न सकिने अवस्था छ। कतैबाट खोप माग भए पठाइदिनसक्ने अवस्था पनि छ।’

उनले अहिले कोरोनाविरुद्धको खोप सहज रूपमा लगाउन पाइन्छ भन्ने धेरैलाई सूचना नै नपुगेको पनि हुनसक्ने बताए। ‘कतिपयलाई अब यो खोपको के काम छ र भन्ने पनि लागेको पाएका छौं,’ उनले भने, ‘खोपले कति काम गर्छ, कति गर्दैन भन्ने चाहिँ पूरा अध्ययन नै भइसकेको छैन।’

जिल्लामा १८ वर्षभन्दा माथिका २ लाख ५५ हजार ५ सय ६७ जनालाई खोप लगाउने प्रक्षेपण गरिएकामा एक लाख ३ हजार ७ सय ८८ जनाले मात्र दुवै डोज लगाएका छन्। एक लाख ५१ हजार ७ सय ७९ जनाले पहिलो डोज लगाएका छन्। बाँकी व्यक्ति खोप लगाउन नआएको उनले जनाए।

‘अहिले कोरोनाको महामारी कम भएकाले पनि मानिसहरू खोप लगाउन नआएका हुुनसक्छन्,’ उनले भने, ‘सेवाग्राही खोप लगाउन आए अहिले हामीसँग पर्याप्त नै छ।’

जिल्लामा १६ हजार ९ सय ९६ ले कोभिसिल्ड, ५० हजार २ सय ४५ ले भेरोसेल, १६ हजार ३४ ले जोन्सन एन्ड जोन्सन र ७७ हजार ३ सय ८२ जनाले अस्ट्राजनिका खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ।  

खोप लगाउन सेवाग्राही नआएर भण्डारणमै खोपको म्याद सकिने मिति नजिकिएपछि २५ हजार हाराहारी डोज खोप इलामबाट झापा पठाइएको उनले बताए। ‘अहिले त आवश्यक पर्यो भने मगाउँदा पनि खोप माथिबाट आउँछ तर लगाउने मान्छे नै आएका छैनन्।’

जिल्लाका सबैजसो पालिकामा ८५ प्रतिशतभन्दा बढीले खोप लगाएको उनले जनाए। ‘खोपमा हामी समुदायस्तरमा पुगिसकेका छौं,’ पण्डितले भने, ‘अब खोप अभावको समस्या हामीलाई छैन।’

अहिले जिल्लामा कोरोना संक्रमितको संख्या शून्य छ। करिब महिनादिनयता जिल्लामा कोरोना पोजिटिभको रेकर्ड नदेखिएको जिल्ला प्रशासन कार्यालयको विवरणमा उल्लेख छ।

अहिले जिल्लाका विद्यालयहरूमा १२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइँदैछ। बालबालिकालाई विद्यालयमा खोप लगाइँदैगरेको कार्यालयले जनाएको छ। यो उमेरसमूहका ३२ हजार ४३ जनालाई खोप लगाउने कार्यालयको अनुमान छ।

प्रकाशित: २१ पुस २०७८ १३:४५ बुधबार

जिल्ला स्वास्थ्य कार्यालय