स्वास्थ्य

नाकामै अस्पताल, नाकामै चेकजाँच

कोरोना संक्रमणको तेस्रो लहरलाई रोक्नका लागि कर्णाली प्रदेश सरकारले प्रदेशको दोस्रो ठूलो नाका कुइनेमा भारतलगायत तेस्रो मुलुकबाट आउने नागरिकहरुको परीक्षण सेवा सुरु गरेको छ। नाकामै १५ बेडको कोभिड अस्पताल पनि सञ्चालनमा ल्याइएको छ।  

अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन र अष्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाइटीको सहयोग तथा वीङ्स फाउण्डेशनको समन्वयमा प्रदेश सरकारले कैलालीसँग सीमा जोडिएको पञ्चपुरी नगरपालिकाको कुइनेमा कोरोना परीक्षण तथा जामुमा अस्पताल सञ्चालनमा ल्याएको हो। कोरोना परीक्षण र अस्पतालको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शुभारम्भ गरे।

दक्षिणको छिमेकी भारतसँग कर्णालीको सीमा जोडिएको छैन्। कर्णाली प्रदेश भित्रिनका लागि सल्यानको कपुरकोट र सुर्खेतको बबई तथा कुइने नाका छन्। कर्णालीका तीन वटै नाकामा प्रदेश सरकारले चेकजाँच र अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ। ‘कोरोनाको तेस्रो लहरलाई रोक्नका लागि कर्णाली भित्रिने तीन वटै नाकामा चेकजाँच र अस्पताल सञ्चालन गर्ने लक्ष्य सरकारको छ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘त्यसको सुरुवात कुइने नाकाबाट गरेका हौं।’

कुइने नाका सुर्खेतसहित दैलेख, कालिकोट, सुदूरपश्चिमको अछाम र बाजुराको मुख्य नाका हो। यो क्षेत्रका अधिकांस नागरिकहरु रोजगारीका लागि कालापहाड (भारत) जाने गर्छन्। ‘तीज, दशैं–तिहारका लागि कामका लागि भारत गएका नागरिकहरु फर्कनेक्रम सुरु भएको छ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘ति सबै नागरिकहरुको चेकजाँच गरेर कर्णालीमा भित्र्याउने लक्ष्य सरकारको छ।’

कोरोनाको दोस्रो लहर रोक्न नसक्दा कर्णालीमा धेरै नागरिकहरु संक्रमित भए। तीन सय ८० जना नागरिकहरुको मृत्यु भयो। त्यसबाट पाठ सिक्दै सुरुवातमै संक्रमणलाई नाकामै रोक्ने तयारी सरकारले थालेको हो। ‘अघिल्ला वर्षहरुमा समयमै नाकामा चेकजाँच र संक्रमितहरुलाई नाकामै राखेर उपचार गरिदिएको भए कर्णालीमा कोरोना फैलनबाट रोक्न सकिन्थ्यो,’ उनले भने, ‘त्यसको पाठ सिक्दै कोरोनाको तेस्रो लहर रोक्न अहिलेदेखिनै नाकामा चेकजाँच र नाकामै अस्पताल सञ्चालनमा ल्याएका छौं।’

वीङ्स फाउण्डेशनका अध्यक्ष डा. नवराज केसीले अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन र अष्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाइटीको सहयोगमा कुइने नाकामा स्वास्थ्यकर्मी, परीक्षणका लागि आवश्यक एन्टिजेन कीट, औषधि उपलब्ध गराइएको बताए। ‘यसका साथै तीजदेखि तिहारसम्म भारतबाट कति संख्यामा नागरिकहरु फर्किन्छन् र उनीहरु मध्ये कति जनामा कस्तो प्रकारको कोरोना संक्रमण छ भन्ने पनि अध्ययन गछौं,’ उनले भने, ‘यो अध्ययनले सरकारलाई आगामी दिनमा अघाडी बढ्नका लागि सघाउ पुर्‍याउँछ।’

पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले नाकामा परीक्षण र अस्पताल सञ्चालनले गाउँमा संक्रमण रोक्न सहज हुने बताए। ‘नाकामै परीक्षण गरेर संक्रमितहरुलाई नाकाकै अस्पतालमा राख्दा गाउँमा संक्रमण फैलिन रोकिन्छ,’ उनले भने, ‘कर्णालीमा संक्रमण रोक्ने हो भने बाँकी रहेका दुई नाकामा पनि परीक्षण र अस्पताल सञ्चालनमा ल्याउनुपर्छ।’ 

प्रकाशित: १ भाद्र २०७८ १०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App