स्वास्थ्य

प्रदेश १ मा खोप वितरण सुरु

प्रदेश १ का सबै जिल्लामा कोरोना भाइरसविरुद्धको खोप वितरण सुरु भएको छ। शनिबारदेखि प्रदेशका जिल्लाहरुमा खोप पठाउन थालिएको विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ।

खोप व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना भइरहेको बेला प्रदेश १ सरकारले सोमबारसम्म १४ वटै जिल्लामा खोप पुर्‍याउने दाबी गरेको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहका अनुसार कोरोनाविरुद्धको खोप वितरणका लागि शनिबारबाट १४ जिल्लामा पठाइएको छ।

सो क्रममा सोमबारसम्ममा १४ जिल्लाभरि खोप वितरण कार्य सम्पन्न गरिसक्ने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त खोप जिल्लातर्फ वितरण सुरु गरिएको केन्द्रका प्रमुख साहले बताए। आइतबार सुनसरी, उदयपुर, झापा, इलाम र पाँचथरका जिल्लामा भेरोसेल खोप पठाइएको छ।  

प्रदेशमा १ लाख ६९ हजार डोज भेरोसेल खोप र ४८ हजार भायल अर्थात् २ लाख ४० हजार डोज अमेरिकी खोप जोनसन एण्ड जोनसन आएको छ। भेरोसेल खोप लगाउने कार्य सम्पन्नपछि जोनसन खोप वितरण सुरु गरिने साह बताए। भेरोसेल खोप ५४ वर्षमाथि र जोनसन एण्ड जोनसन खोप ५० वर्षमाथिका व्यक्तिलाई लगाइने तयारी गरेको जनाएको छ।

प्रकाशित: १० श्रावण २०७८ १४:०४ आइतबार

प्रदेश १ खोप वितरण