बागलुङस्थित धवलागिरि अस्पतालमा पछिल्लो दुई दिनमा चार जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन्। ज्यान गमाउनेमा २३ वर्षीया युवती रहेकी छिन्। गम्भीर सङ्क्रमणका कारण अस्पतालको सघन उपचार कक्षमा तीन जना उपचाररत रहेका छन्।
आइसोलेशनमा रहेका बिरामीको पनि श्वासप्रश्वासको समस्या बढी रहेको छ। दुई साता अघि अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या सातमा झरेकोमा अहिले क्रमशः बढ्दै १२ पुगेको छ। जिल्लाभर सक्रिय सङ्क्रमित घटेर दुई सय ५४ पुगेकामा शनिबारसम्ममा पुनः सङ्ख्या उकालो लागेर तीन सय २२ पुगेको छ।
यसले केही दिन थामिएजस्तो देखिएको सङ्क्रमण फेरि बढ्न थालेको सङ्केत गरेको छ। स्वास्थ्य कार्यालयकाअनुसार जिल्लामा गरिएको कूल पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर २४.७ प्रतिशत छ जबकी नेपालको सङ्क्रमण दर १९.०१ प्रतिशत मात्र छ।
कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले सङ्क्रमणसँगै मृत्युका घटना पुनः बढेको बताए। 'होम आइसोलेशनमा बसेका सङ्क्रमित स्वास्थ्य स्थिति गम्भीर भइसकेपछि मात्र अस्पताल आउँदा मृत्यु बढेको हो' उनले भने। शुक्रबार दिउँसो मृत्यु भएकी तमानखोला गाउँपालिका–१ की २३ वर्षीया युवतीलाई पनि अस्पताल ल्याउन ढिला भएको स्रोत व्यक्ति घिमिरेले बताए।
अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले कतिपय कोरोनाका बिरामी अक्सिजनको तह घटेर २५/३० सम्म पुगेपछि बल्ल अस्पताल आउने गरेको सुनाए। 'होम आइसोलेशनमा बसेका संक्रमितको अक्सिजन तह ९२ भन्दा तल हुन थाल्यो भने तुरुन्त अस्पताल आइहाल्नुपर्छ', उनले भने। स्वास्थ्य गम्भीर बनेपछि मात्र अस्पताल आएकै कारण कतिपय बिरामीलाई हरप्रयास गर्दा पनि बचाउन नसकिएको प्रमुख चिकित्सक पोखरेलले जानकारी दिए।
निषेधाज्ञा खुकुलो पारिएसँगै सङ्क्रमणको जोखिम पनि उत्तिकै बढेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने उनको भनाइ छ। 'बीचमा केही कम भएको थियो, अहिले फेरि कोरोनाका सिकिस्त बिरामी बढेका छन्, यसबाट पनि समुदायस्तरमा महामारी कायमै रहेको देखिन्छ', प्रमुख चिकित्सक पोखरेलले भन्न्छन्,'जोखिम बढ्दो छ, प्रत्येक व्यक्ति सतर्क र जिम्वेवार नभएसम्म सङ्क्रमण रोकथाम हुँदैन।'
होम आइसोलेशनमा रहेकालाई आफ्नो स्वास्थ्य स्थितिबारे विशेष रुपमा चनाखो बन्न उनले सुझाव दिए। सङ्क्रमणले च्याप्दै लगेर अन्तिम अवस्थामा अस्पताल ल्याउँदा कोरोनाको उपचार प्रभावकारी नहुने उनको भनाइ छ। स्वास्थ्य कार्यायलको आँकडा अनुसार बागलुङ नगरपालिकाका पाँच, बडिगाड गाउँपालिकाका दुई, तमानखोला गाउँपालिकाका दुई र गलकोट नगरपालिकाको एक वडा कोरोना सङ्क्रमणको उच्च जोखिममा छन्। जिल्लाभरमा मध्यम जोखिम भएका ३६ र न्यून जोखिम भएका ३९ वडा छन्।
पहिलो र दोस्रो लहरमा गरी हालसम्म २० हजार जनामा कोरोना परीक्षण गर्दा पाँच हजार बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ। कोरोनाका कारण जिल्लामा ६९ जनाले ज्यान गुमाइसकेका छन्। उपचारका क्रममा जिल्ला बाहिरका अस्पतालमा मृत्यु भएकाको सङ्ख्या जोड्दा त्यो अझ बढी हुन आउँछ।
प्रकाशित: २८ असार २०७८ ०६:२० सोमबार