स्वास्थ्य

कोरोना संक्रमित बेडबाट लडेको घटनाबारे वीपी प्रतिष्ठानले छानबिन गर्ने

बेडबाट लडेर गम्भीर घाइते भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको घटनाबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छानबिन गर्ने भएको छ। मृतकको परिवारजनले छानबिनको माग गर्दै शव जिम्मा नलिने अडान लिएपछि प्रतिष्ठानले आन्तरिक छानबिन गर्ने भएको हो। 

मृतक पक्षको माग बमोजिम अस्पताल प्रशासनले कोभिड १९ अस्पतालको सिसिटिभी फुटेज पनि परिवारलाई हेर्न दिएको छ। ‘मृतक पक्षले माग गरे बमोजिम सिसिटिभी फुटेज हेरेर चित्त बुझाएपछि शव जिम्मा लिएर जानु भएको छ, तर पनि बिरामी लडेको भन्ने विषयमा खास के भएको हो? यसबारेमा आन्तरिक छानबिन गरिने भएको छ,’प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले भने,‘बिरामी बेडमा राम्रो अवस्थामा नै देखिएको थियो। प्रतिष्ठानले छानबिन गरेर मृतक परिवारलाई पनि जानकारी गराइन्छ।’

सोमबार राती करिब साढे ७ बजे सिरहाको गोलबजारकी ५५ वर्षीया संक्रमित महिलाको प्रतिष्ठानस्थित कोभिड अस्पतालमा निधन भएको थियो। त्यसअघि दिउँसो २ बजे परिवारजनलाई ब्रिफिङको क्रममा अस्पतालले बेडबाट लडेर घाइते भएको, नाक र निधार फुटेको भन्ने जानकारी दिएका थिए। मृतक पक्षले अघिल्लो साँझसम्म सामान्य रहेको बिरामी एक्कासी लडेको खबर ढिला गरि दिएकोमा आक्रोशित हुँदै लापरबाही भएकोले छानबिन हुनुपर्ने, सिसिटिभी फुटेज हेर्न पाउनुपर्ने माग गरेका थिए।  

परिवारजनले शव बुझ्न नमानेपछि मंगलबार(आज) बिहान अस्पताल प्रशासन र मृतक पक्षबीच वार्ता भएको थियो। उक्त वार्तामा सिसिटिभी फुटेज हेर्न दिने र चित्त नबुझाएमा छानबिन समिति गठन गर्ने सहमति भएको थियो। मृतक पक्षले सिसिटिभी फुटेज हेरेपछि शव जिम्मा लिएर अन्त्येष्टी गरिसकेको छ। 

‘फुटेज थोरै सरसर्ति हेरेर शव जिम्मा लिएर अन्त्येष्टी गरेका छौं। हामीलाई चित्त बुझेको छैन, छानबिन समितिले सबै फुटेज हेर्ने भनेका छौं,’ मृतकका ज्वाँई धन नारायण श्रेष्ठले भने,‘समितिले यथार्थ छानबिन गर्नुपर्छ।’

यो पनि पढ्नुहोस्

अस्पतालकाे बेडबाट लडेर घाइते भएकी महिलाको मृत्यु, छानबिन गर्न परिवारको माग

प्रकाशित: १८ जेष्ठ २०७८ १२:१३ मंगलबार

कोरोना संक्रमित वीपी प्रतिष्ठान छानबिन