स्वास्थ्य

चाँगुनारायणमा १ करोड ५७ लाखको अक्सिजन प्लान्ट बन्ने

चाँगुनारायण नगरपालिकाले पनि अक्सिजन प्लान्ट जडान गर्ने भएको छ। नगरपालिकाले वडा नं. ४ मा सञ्चालन गरिरहेको चाँगुनारायण अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरेको हो।

अस्पतालमा करिब १ करोड ५७ लाख बराबरको अक्सिजन प्लान्ट जडान गर्ने योजनामा रहेको नगरपालिकाले शुक्रबार चाँगुनारायण फाउन्डेसनसँग सम्झौता गरेको छ। सम्झौता अनुसार प्लान्टका लागि फाउन्डेसनले ६० प्रतिशत र नगरपालिकाले ४० प्रतिशत रकम ब्यहोर्ने समझदारी भएको छ।  

‘चाँगुनारायण अस्पताललाई व्यवस्थित बनाउँ, चाँगुबासीलाईस्वस्थ राखौं’, ‘यो महामारीमा आफ्नो ठाँउबाट सहयोग गरौ!’ भन्ने उद्देश्यले नगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको फाउण्डेसनका अध्यक्ष मणिरज खत्रीले बताए। उनले नेदरल्याण्डस्थित स्टिचिङ नेपाल नामक संस्थासँग समन्वय गरी प्लान्ट स्थापना गर्न लागेको बताए।

‘यही नगरपालिकाका रामेश्वर बुढाथोकी लामो समयदेखि नेदरल्याण्डमा हुनुहुन्छ, उहाँ नेदरल्याण्डको सरकारी जागिरे र अधिवक्ता पनि हुनुहुन्छ, उहाँको विशेष पहलमा हामीले नगरपालिकामा अहिलेको आवश्यकता पूरा गर्न प्लान्ट बनाउने योजना अघि सारेका हौं, यसमा नगरपालिकाले सहयोग गरेको छ।’ फाउण्डेसनका अध्यक्ष खत्रीले भने।

उनले एक महिनाभित्र प्लान्ट सञ्चालन गर्ने योजना रहेको बताउँदै त्यसका लागि फाउण्डेसनले हालसम्म २१ लख रुपैयाँ संकलन गरिसकेको जनाए। ‘केही रकम जम्मा भइसकेको छ, अब हामी अस्पतालमा प्लान्ट बनाउने काम सुरु गर्छौं।’ उनले भने।

प्रकाशित: १४ जेष्ठ २०७८ १४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App