स्वास्थ्य

एचडियुमा उपचार सफल

केही साताअघि इलाम अस्पतालमा सुरु गरिएको एचडियु (हाई डिपेन्डेन्सी युनिट)मा जटिल बिरामीको उपचार सफल भएको छ । फाकफोकथुम गाउँपालिकाका कोभिड–१९ संक्रमित युवक उपचारपछि डिस्चार्ज भइ घर फर्किएका छन् ।  

सामान्य रुघाखोकी लागेर अस्पताल भर्ना भएका युवकमा एक्स–रे गर्दा निमोनियाँ देखिएको थियो । निमोनियाँपछि एन्टिजिन परीक्षण गर्दा रिपोर्टमा पोजिटिभ देखियो । त्यसपछि निकै सिकिस्त भएका बिरामीलाई एचडियुमा राखिएको थियो । एचडियुमा राखेर एन्टिबायोटिक चलाउँदा उपचार सफल हुन सहयोग पुगेको चिकित्सक विश्रुत सापकोटाले जानकारी दिए ।

‘त्यतिबेला बिरामीको अवस्था हेर्दा यहाँ उपचार हुने विश्वासै थिएन,’ बिरामीका आफन्त आदित्य राईले भने, ‘तर, इलाममा निकै जटिल केसको उपचार हुनथालेछ ।’ अस्पताल व्यवस्थापक क्षितिज खतिवडाले अस्पतालको एचडियु सेवा भरपर्दाे भएको बताए । ‘इलाम अस्पतालको एचडियुमा पहिलो सफल उपचार भएको छ यो,’ उनले भने, ‘भर्खरै सुरु यो सुविधाबाट निकै जटिल बिरामीले सेवा लिन सक्छन् ।’ एचडियुमा जटिल  बिरामीलाई राखिन्छ । र, स्वास्थ्यकर्मीको विशेष निगरानी रहन्छ ।

अस्पतालको २ शड्ढया रहेको इन्टेन्सिभ केयर युनिट (आइसियु)लाई अहिले जनशक्ति अभावका कारण एचडियुमा परिवर्तन गरिएको छ । इलाम अस्पतालमै बुधबार पनि कोभिड संक्रमित एक महिलाको सफल शल्यक्रिया गरी प्रसूति गराइएको छ । उनलाई पनि एचडियुमै राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ । ‘पुग्दो जनशक्ति हुने हो भने इलाम अस्पतालले निकै जटिल बिरामीलाई पनि उपचार गर्नसक्ने अवस्था छ,’ व्यवस्थापक खतिवडाले भने, ‘उपकरण र दरबन्दीअनुसार जनशक्ति व्यवस्थापनको प्रयास भइरहेको छ ।’

प्रकाशित: १४ जेष्ठ २०७८ १२:३९ शुक्रबार

एचडियुमा उपचार सफल