स्वास्थ्य

सबै जिल्ला अस्पतालमा उपचारको व्यवस्था गर्न निर्देशन

प्रदेश १ का सबै जिल्ला अस्पतालमा कोरोनाको उपचार सुरु गर्न प्रदेश सभाको सामाजिक विकास समितिले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले प्रदेश १ का सबै जिल्ला अस्पतालमा कोरोनाको उपचार सुरु गर्न निर्देशन दिएको हो। 

सुनसरी जिल्ला अस्पताल इनरुटा, पाँचथर, संखुवासभा र उदयपुरका जिल्ला अस्पतालमा पूर्वाधार तयार रहेकाले तत्काल कोभिड–१९ का बिरामीको उपचार सेवा सुरु गर्न र अन्य जिल्लाका अस्पतालमा पूर्वाधार तयार गरी उपचार सेवा सुरु गर्न निर्देशन दिएको सामाजिक विकास समितिकी सभापति सरिता थापाले बताइन्।  

उनका अनुसार समितिले प्रदेशको नियमन अधिकार क्षेत्रका सबै निजी अस्पतालमा कोरोनाको उपचार सेवा सुरु गर्न समेत निर्देशन दिएको छ। प्रदेश सरकारले निर्माण गरेको कोसी कोभिड अस्पताल बन्द रहेको र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १५० बेडमध्ये ३० बेड मात्रै सञ्चालनमा रहेकाले पूर्ण क्षमतामा दुवै अस्पताल सञ्चालन गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ। स्थानीय तहहरूको सहकार्यमा आइसोलेसन र होल्डिङ सेन्टर बनाउने, सीमानाका थप व्यवस्थित बनाउने, अक्सिजन आपूर्ति व्यवस्थित बनाउन २४ सै घन्टा विद्युत आपूर्ति सहज बनाउन समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ।  

सबै नागरिकलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन, पहिलो डोज लगाएकालाई दोस्रो डोज खोपको व्यवस्था गर्न, अनुगमनका क्रममा विएण्ड सि र विराट मेडिकल कलेजले अनुचित धरौटी लिइरहेकाले निजी अस्पतालले धरौटी लिन नपाउने व्यवस्था गर्न पनि सामाजिक विकास समितिले निर्देशन दिएको छ।

प्रकाशित: ३० वैशाख २०७८ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App