स्वास्थ्य

रेमडेसिभिर निर्यातमा भारतको प्रतिबन्ध

कोरोना महामारीको दोस्रो लहर तीव्र भएपछि यो रोगको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि रेमडेसिभिर निर्यातमा भारतले प्रतिबन्ध लगाएको छ। भारतको केन्द्र सरकारले आइतबार यस्तो निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

‘भारत सरकारले रेमडेसिभिरको इन्जेक्सन र यो औषधि बनाउँदा प्रयोग हुने रसायनलाई स्थिति नसुध्रिएसम्म निर्यात गर्न प्रतिबन्ध लगाएको छ,’ भारतको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। अमेरिकास्थित जिलेड साइन्सको लाइसेन्समा रहेको उक्त औषधि भारतका ७ कम्पनीले उत्पादन गर्दै आएका छन्। यी कम्पनीले महिनाको ३९ लाख युनिट औषधि उत्पादन गर्ने क्षमता राख्ने जी न्युजले जनाएको छ।

मन्त्रालयले अस्पताल र बिरामीलाई यो औषधिको सहज उपलब्धताका लागि सबै उत्पादकलाई आफूसँग भएको स्टक र वितरकको जानकारी वेबसाइटमा राख्न निर्देशन दिएको छ। भारतको औषधि व्यवस्था विभागले उत्पादक कम्पनीहरूलाई उत्पादन बढाउन अनुरोध गरेको छ। भारतमा आइतबार मात्र १ लाख ५२ हजारजनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

नेपाललाई असर

भारतले यो अत्यावश्यक औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा यसको प्रभाव पर्ने देखिएको छ। औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले हाल नेपालसँग १२ हजार रेमडिसिभिर इन्जेक्सन रहेको बताए। एक बिरामीलाई ६ पटक यो इन्जेक्सन दिनुपर्ने हिसाबले नेपालको स्टकले २ हजारजनालाई पुग्छ। ‘हामीलाई यो प्रतिबन्धबारे औपचारिक जानकारी आएको छ,’ केसीले भने। उनले बंगालादेशबाट यो औषधि आयात गर्न अथवा राजनीतिक तहमा औषधि नेपाललाई उपलब्ध गराउन भारतसँग अनुरोध गर्न सकिने बताए। ‘यसको अभाव हुन नदिन विकल्पको खोजीमा लागेका छौं,’ केसीले भने।

प्रकाशित: ३१ चैत्र २०७७ ०१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App