स्वास्थ्य

सुदूरपश्चिममा १३ सय जना क्षयरोगका बिरामी, उपचार सफलता दर ९० प्रतिशत

सांकेतिक तस्बिर।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको जोखिमका कारण परीक्षण दर घटेपछि गत वर्षको तुलनामा क्षयरोगका बिरामीको संख्यामा कमी आएको छ। पुस मसान्तसम्मको तथ्यांकअनुसार १ हजार २ सय ८२ जना क्षयरोगका बिरामी रहेका छन्। गत आर्थिक वर्षमा २ हजार ७ सय ३५ जना क्षयरोगका बिरामी थिए। कोरोना भाइरसको जोखिमका कारण परीक्षण दर घटेपछि गत वर्षको तुलनामा यसवर्ष क्षयरोगका बिरामी कम देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत मनोज ओझाले जानकारी दिए।

कैलाली जिल्लामा सबैभन्दा बढी ५ सय १ जना क्षयरोगका बिरामी रहेका छन् भने कञ्चनपुरमा ३ सय ४९ जना रहेका छन्। डोटीमा ८२, बझाङमा ७५ बैतडीमा ७४, अछाममा ६४, डडेल्धुरामा ६०, बाजुरामा ५२ र दार्चुलामा २५ जना क्षयरोगका बिरामी रहेका छन्।

सरकारले क्षयरोगका बिरामीहरुलाई निशुल्क परीक्षण र उपचारको व्यवस्था गरेको छ। दुई हप्तामा वा लामो समयसम्म लगातार खोकी लागेमा, साँझ पख हल्का ज्वरो आउनेजस्ता लक्षण देखिएमा क्षयरोग हुनसक्ने भएकाले नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउन क्षयकुष्ठ अधिकृत ओझाले आग्रह गरे। उनकाअनुसार नियमित रुपमा औषधि सेवन गरे क्षयरोग पूर्ण रुपमा निको हुन्छ।

सुदूरपश्चिम प्रदेशमा क्षयरोगको उपचार सफलता दर ९० प्रतिशत रहेको छ भने ४ प्रतिशतले उपचार पूरा नगरी बीचमै औषधि छोड्ने गरेको तथ्यांकले देखाउँछ। क्षयरोगका बिरामीमध्ये ५ प्रतिशतको मृत्यु हुने गरेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ।

प्रकाशित: ११ चैत्र २०७७ ०७:५४ बुधबार

सुदूरपश्चिम प्रदेश क्षयरोग