स्वास्थ्य

कोरोना लागेर थाहै नपाई निको भएका बिरामी पनि पत्ता लगाउने ‘सेरो सर्वेक्षण’ सुरु गरिँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ गर्न थालेको हो ।  

महाशाखाले विश्व स्वास्थ्य संगठनको सहयोगमा कोभिड–१९ ले देशभरि मानिसमा पारेको प्रभावबारे अध्ययन गर्न थालेको हो । महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोभिड–१९ ले समुदायमा कुन तहसम्म पुगेको भन्ने थाहा पाउन ‘सेरो सर्वेक्षण’ गर्न थालिएको जानकारी दिए ।  

यसअघि महाशाखाले काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण समुदायसम्म पुगेको छ वा छैन भनेर ५ हजार जनामा पिसिआर परीक्षण गरेको थियो ।  

‘सेरो सर्वेक्षण’ रगतबाट गरिने परीक्षण भएकाले संक्रमण देखिएका ठाउँमा गएर महाशाखाले मानिसको रगतको नमुना संकलन गर्नेछ । पिसिआर परीक्षणले तत्काल सक्रिय भाइरस पत्ता लगाउने गर्छ भने ‘सेरो सर्वेक्षण’ ले मानिसमा पहिले भएको संक्रमणको भाइरस पनि थाहा पाइने हुन्छ ।  

‘सेरो सर्वेक्षण’ ले कोभिड–१९ संक्रमण भई थाहै नपाई निको भएका बिरामीमा भाइरस रहेको अवस्था पनि पत्ता लगाउनेछ । ‘तत्काल समुदायमा कोभिड– १९ को संक्रमण कस्तो छ भनेर पिसिआर परीक्षण गरिन्छ,’ उनले भने, ‘महामारीका रूपमा फैलिएको कोभिड–१९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर थाहा पाउन सेरो सर्वेक्षण गर्न थालिएको हो ।’

‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ बाट थाहै नपाई निको भएका र लक्षण नदेखिएर पनि निको भएका बिरामीको अवस्थाबारे पनि थाहा हुनेछ । नेपालमा कोभिड–१९ का ९७ प्रतिशत संक्रमित बिनालक्षणका देखिएका छन् ।  

‘सेरो सर्वेक्षण’ का लागि महाशाखाले सातवटै प्रदेशका संक्रमण बढी देखिएका जिल्लामा गएर मानिसको रगतको नमुना संकलन गर्नेछ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले सेरो सर्वेक्षण थाल्ने अन्तिम तयारी भइरहेको जानकारी दिए।  

‘कोभिड–१९ संक्रमणबाट कति मानिस आफैं सञ्चो भएका छन् । उनीहरूलाई संक्रमण भए÷नभएको हामीलाई थाहा छैन,’ उनले भने, ‘त्यसैले त्यस्ता मानिसमा रहेको भाइरसको अवस्था सेरो सर्भेलेन्सबाट थाहा हुनेछ ।’

कोरोना संक्रमण भएको १४ दिनपछि मानिसमा एन्टिबडी उत्पन्न हुन्छ । सेरो सर्भेलेन्सबाट कोभिड– १९ को संक्रमणमुक्त भएका मानिसको रगतमा भाइरसविरुद्धको एन्टिबडी कति बनेको थाहा हुनेछ । ‘मानिसमा रोगसँग लड्ने क्षमता हुन्छ । मानिस कुनै भाइरसबाट संक्रमित भएपछि उसमा भएको रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाउने गर्छ,’ उनले भने, ‘त्यही रोगसँग लड्ने एन्टिबडी कति बनेको छ भनेर हेर्न पनि सेरो सर्भे गर्न थालिएको हो ।’

उनका अनुसार यो सर्भे संक्रमण देखिएका ठाउँमा गएर चाँडै सुरु गरिनेछ ।  

प्रकाशित: ५ श्रावण २०७७ ११:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App