जोन एम बेरी/न्युयोर्क टाइम्स
जब तपाईं विज्ञान र राजनीतिलाई आपसमा मिलाउनुहुन्छ, परिणाममा राजनीति पाउनुहुन्छ। कोरोना भाइरसको सन्दर्भमा राजनीतिले काम गर्दैन भन्ने अमेरिकाले प्रमाणित गरेको छ। अर्थतन्त्र र सुरक्षित हिसाबले विद्यालय पूर्ण रुपमा खोल्ने हो भने हामीले विज्ञानको सहारा लिनुपर्छ र यो सम्भव पनि छ।
अमेरिकामा कोरोना भाइरस संक्रमणको स्थिति कतिसम्म बिग्रेको छ भनेर बुझ्न हामीले अन्य देशसँग तुलना गर्नुपर्छ। यो लेख लेख्दासम्म कोरोनाले सबैभन्दा बढी क्षति गरेको इटालीमा एक दिनमा दुई सय संक्रमित भेटिएका छन् तर इटालीभन्दा आधा जनसंख्या भएको अमेरिकी राज्य टेक्सासमा एक दिनमा ९ हजार संक्रमित भेटिएका छन्। त्यस्तै अमेरिकाको फ्लोरिडा राज्यभन्दा चार गुना बढी जनसंख्या भएको जर्मनीमा एक दिनमा चार सयभन्दा कमलाई संक्रमण भएको तथ्यांक छ। गएको आइतबार फ्लोरिडामा एक दिनमा १५ हजार ३ सय संक्रमित फेलापरेका थिए।
ह्वाइट हाउसले आममानिसले कोरोना भाइरससँगसँगै बाँच्न सिक्नुपर्ने बताउँदै आएको छ। तर भाइरस संक्रमितको दर इटाली र जर्मनीको हाराहारीमा भएको भए यो तर्क ठीकै पनि हो। संक्रमित संख्याको दैनिक वृृद्धिदरका आधारमा अमेरिका विश्वमा पहिलो राष्ट्र बनेको छ। त्यसपछि ब्राजिल रहेको छ। इटाली, जर्मनीलगायत दर्जनौं राष्ट्र लकडाउनपछि पुनः खुलेका छन् र त्यसका लागि पर्याप्त आधार पनि छन्। उनीहरुले कोरोना भाइरस संक्रमणलाई गम्भीरतापूर्वक लिए र नियन्त्रणका लागि आवश्यक निर्णय लिए, लिइरहेका छन्। बिहे पार्टीमा धेरैलाई निम्ताएका कारण अस्ट्रेलियामा एकजनाले १८ हजार अमेरिकी डलरबराबर जरिवाना तिर्नुपरेको छ।
‘कोरोना महामारी झन् भयानक हुन सक्छ, कडा लकडाउन आवश्यक हुन सक्छ।’
अमेरिकी जनस्वास्थ्यविद्ले सरकारलाई कोरोना संक्रमण नियन्त्रणका लागि युरोपेली मोडल अवलम्बन गर्न सुझाएका छन्। जसअन्तर्गत भाइरस संक्रमण दर ओरालो नलाग्दासम्म लकडाउन, जनस्वास्थ्यसम्बन्धी निर्देशन परिपालना, कोरोना संक्रमितको पहिचान, परीक्षण, आइसोलेसन र उपचारका लागि आवश्यक जनशक्ति व्यवस्थापन महत्वपूर्ण छन्। तर अमेरिकामा पर्याप्त सावधानी नअपनाउँदा र लकडाउन नगर्दा परिणाम डरलाग्दो देखिएको छ। अमेरिकामा परीक्षण गरिसकेपछि सम्बन्धित व्यक्तिको सम्पर्कमा पुगेका मानिसको पहिचानमा पनि पर्याप्त काम भएको छैन। उदाहरणका लागि अमेरिकाको मियामी राज्यमा कोरोना भाइरस पोजेटिभ देखिएका मध्ये १७ प्रतिशतले मात्र प्रश्नावली फाराम भरेका थिए। अन्य राज्यमा पनि स्थिति त्यस्तै छ।
उपाय के त ?
कोरोना भाइरस संक्रमणबाट जोगिन सामाजिक दूरी कायम, मास्क प्रयोग, पटकपटक साबुनपानीले हात धुने र सेल्फ क्वारेन्टिन अत्यन्त महत्वपूर्ण विषय सावित भएका छन्। त्यस्तै भेन्टिलेसनको आवश्यक व्यवस्थामा पनि ध्यान कम गएको छ, जुन पछिल्ला दिनमा कोरोना नियन्त्रणका लागि महत्वपूर्ण विषय बनेको छ। यस्तै सार्वजनिक स्थानमा अल्ट्राभाइलेट प्रकाश जडान गर्न सकिन्छ। यसले भाइरसको फैलावट दर नियन्त्रण गर्न सहयोग पुग्छ। अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रुपमा मास्क लगाएका छन्, जसले यो विषयलाई कम राजनीतिक बनाएको छ। तर यसो हुँदाहुँदै पनि अमेरिकामा डरलाग्दो हिसाबले कोरोना संक्रमण दर बढिरहेको छ।
विद्यालय सुरक्षित रुपमा खोल्न र अर्थतन्त्रलाई पूर्ण रुपमा चलायमान बनाउन दैनिक संक्रमण संख्या युरोपेली देशमा भन्दा कम हुनैपर्छ। अमेरिकामा ट्रम्प प्रशासनले विद्यालय नखोलेमा सरकारी सहयोग बन्द गर्ने चेतावनी दिएको छ। यसले संक्रमण दर झन् बढ्नेछ। त्यसैले अमेरिकामा संक्रमण दर घटाउन अब निर्णायक कार्य गर्न आवश्यक छ। जसअन्तर्गत निजीस्तरका भेला रोक्न सकिन्छ, निश्चित स्थानमा लकडाउन गर्न सकिन्छ, बार, रेस्टुरेन्ट, धार्मिक स्थल र अधिकतम संक्रमण हुने सम्भावना भएका क्षेत्रमा आवतजावत निषेध गर्न सकिन्छ।
अमेरिकामा स्थानीय परिस्थिति हेरेर अप्रिलमा गरिएजस्तो पूर्ण लकडाउन आवश्यक हुन सक्छ। यो जिल्लागत हिसाबमा गर्न सकिन्छ तर अपूर्ण लकडाउनले खास उपलब्धि दिन सक्दैन। अपूर्ण तबरले गरिने नियन्त्रण प्रयासले भाइरसको नियन्त्रण होइन, मृत्यु निम्त्याउनेछ।
सन् १९१८ को इन्फ्लुएन्जा संक्रमणका बेला हरेक सहरले आफ्ना क्रियाकलाप बन्द गरेका थिए। त्यसमा संक्रमणको डर र परिवारका बिरामी सदस्यको हेरचाहको चिन्ताले धेरै काम गरेको थियो। तत्काल खुला भएका सहर दोस्रोपटक र कतिपय स्थानमा तेस्रोपटक बन्द गर्नुपरेको थियो। यसले जीवन रक्षा भएको थियो।
सुरुदेखि नै सही निर्णय लिएको भए अहिले अमेरिका शतप्रतिशत खुला हुने थियो। विद्यालय खुलिसकेका हुन्थे, फुटबल टिमहरु पनि अभ्यासमा अभ्यस्त भइसकेका हुन्थे। सबैभन्दा महत्वपूर्ण कुरा, लाखौं अमेरिकीको मृत्यु हुने थिएन।
अमेरिकाका लागि यो दोस्रो अवसर हो। अमेरिकाले तेस्रो अवसर पाउने छैन। कोरोना भाइरस संक्रमण दर नियन्त्रण भएन भने केही महिनामा मौसम चिसो भएपछि मानिस घरभित्रै बस्नुपर्ने अवस्थामा झन् ठूलो आपत् आउन सक्ने सम्भावना छ।
(जोन एम बेरी ‘दे ग्रेट इन्फ्लुएन्जा, द स्टोरी अफ द डेडलियस्ट पान्डेमिक इन हिस्ट्री’ का लेखक हुन्। यो लेख न्युयोर्क टाइम्सको प्रिन्ट संस्करणमा बिहीबार प्रकाशित सामग्रीको भावानुवाद हो।)
प्रकाशित: २ श्रावण २०७७ ०१:३२ शुक्रबार