स्वास्थ्य

हावामा कोरोना भाइरस भेटिएको भन्नेबारे गम्भीर समीक्षा गरिरहेका छौं : डब्लुएचओ

विश्व स्वास्थ्य संगठनकाे केन्द्रीय कार्यालय

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार कोरोना भाइरस मुख्य रूपमा संक्रमितको नाक वा मुखबाट निस्किने तरल पदार्थका छिट्टाबाट अन्य व्यक्ति सरेर फैलिन्छ।  

तर क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा सोमबार प्रकाशित एक खुला पत्रमा ३२ देशका २३९ वैज्ञानिकले कोरोना भाइरस हावामा समेत रहन सक्ने र त्यो हावामा श्वास लिने मानिस संक्रमित हुन सक्ने बताएका छन्।  

डब्लुएचओलाई सम्बोधन गरिएको यो पत्रमा उनीहरूले यस विषयमा पुनर्विचार गर्न र यससँग सम्बन्धित मार्गनिर्देशन नै नयाँ जारी गर्न सुझाव दिएका छन्।  

 

यो पनि पढ्नुहोस्

३२ देशका वैज्ञानिक भन्छन् : काेराेना हावामै मिसिएकाे पाइयाे

 

यस विषयमा डब्लुएचओका प्रवक्ता तारिक जसारेविकले भनेका छन्, ‘हाम्रो संस्थालाई वैज्ञानिकको उक्त लेखबारे जानकारी छ र आफ्ना विशेषज्ञमार्फत त्यसको समीक्षा गरिरहेको छ।’  

अहिलेसम्म के स्पष्ट भइसकेको छैन भने हावामा कोरोना भाइरस कसरी फैलिन्छ? यो कुरा स्पष्ट आएका खण्डमा डब्लुएचओले कोरोनाबाट बच्ने उपायबारे अहिलेसम्म जुन सुझाव दिइरहेको छ, त्यसमा ठूलो परिवर्तन आउनेवाला छ।

डब्लुएचओले यसअघिदेखि के भनिरहेको छ भने व्यक्तिबीच कम्तीमा ३.३ फिट दूरी कायम गरे कोरोना संक्रमण रोकथाम गर्न सम्भव छ। यसलाई गम्भीरतासाथ पालना गरिरहेका देशले पनि यो नयाँ तथ्यसँगै आफ्ना सुरक्षाका नीति बदल्नुपर्ने हुन सक्छ। तर डब्लुएचओले अहिलेसम्म आफ्नो पुरानै नियमलाई सही ठानिरहेको अवस्था छ।  

अमेरकाका मिनेसोटा युनिभर्सिटीका डाक्टर माइलक ओस्टरहोमले डब्लुएचओलाई भनेका छन्, ‘डब्लुएचओले अहिले कोरोना संक्रमितको जुन तथ्यांक छ, त्यसलाई पनि स्वीकार नगरिरहेको जुन स्थिति छ, त्यसले पनि कोरोना संक्रमण हावाबाट फैलिएको संंकेत गर्छ।’

क्याम्ब्रिज युनिभर्सिटीका प्राध्यापक एवं संक्रामक रोग विशेषज्ञ बाबेक जावेदले पनि कोरोना हावाबाट फैलिने सम्भावना व्यापक रहेको बताएका छन्। उनले भनेका छन्, ‘तर यसका लागि के परीक्षण गर्न जरुरी भने कोरोना हावामा कतिन्जेल रहन्छ। यस सम्बन्धमा यो प्रमाणको अझै अभाव छ।’

हावाबाट कोरोना सर्ने कुरा प्रमाणित भएका खण्डमा भने संक्रमित व्यक्ति जुन स्थानमा जान्छ, त्यस स्थानको हावामा कोरोना भाइरस फैलिन सक्छ र जो त्यहाँ रहने अन्य स्वस्थ मानिसमा संक्रमण हुने जोखिम हुन्छ। खासगरी बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मीजस्ता व्यक्ति यसमा सावधान हुनुपर्ने जरुरी देखिन्छ।  

हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका डाक्टर विलियम हेन्ज नि यस विषयमा गम्भीर अध्ययन/अनुसन्धान हुन जरुरी रहेको कुरा स्वीकार गर्छन्। उनी भन्छन्, ‘यदि हावाबाट कोरोना फैलिने सम्भावना कम छ भने पनि यो कुरा सर्वसाधारणलाई जानकारी नगराउनु राम्रो होइन, यो कुरालाई वेबास्ता गर्दा फाइदा हुँदैन।’ बिबिसीबाट

प्रकाशित: २३ असार २०७७ ०७:५१ मंगलबार

कोरोना भाइरस विश्व स्वास्थ्य संगठन