स्वास्थ्य

‘हुनेले दिऔं, नहुनले लिऔं’ अभियान

खोटाङ – मातृभूमी बाकाचोल सेवा समाज नेपालले काठमाडौमा  लकडाउन पिडितको सहयोगार्थ ‘हुनेले दिऔं, नहुनले लिऔं’ नामक राहत अभियान चलाएको छ। खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल घर भइ काठमाडौं बसिरहेका युवाले स्थापना गरेको समाजले काठमाडौंमा  बसिरहेको अवस्थामा लकडाउनका कारण मारमा परेका बाकाचोलबासी नागरिकको सहयोगार्थ राहत अभियान चलाएको हो। हालसम्म काठमाडौंका विभिन्न स्थानमा बसिरहेको अवस्थामा लकडाउनबाट पिडित बनेका १ सय २० परिवारलाई हुने व्यक्तिबाट सहयोग संकलन गरेर चामल, दाल, नून, तेल, चिनी लगायतका राहत प्रदान गरिसकिएको मातृभूमी बाकाचोल सेवा समाज नेपालका सचिव तुलसीराम पुरीले बताए। 

सुन्दरीजल, गोकर्ण, साँखु, मुलपानी लगायतका क्षेत्रमा बसिरहेका मजदुर, विद्यार्थी, अपांग र असहाय जिल्लाबासीलाई नागरिकलाई उभौली तथा बुद्धजयन्तीको दिनदेखि प्रतिपरिवार २५ केजी चामल, २÷२ केजी दाल, नुन, तेल, चिनी बाँड्न सुरु गरिएको समाजले जनाएको छ। यस्तै, चपली, भद्रकाली, बुढानिलकण्ठ, लोकन्थली आसपासमा बसिरहेका लकडाउन पिडित परिवारलाई पनि राहत वितरणको तयारी भइरहेको छ। सुरुमा उपत्यकामा बसिरहेको अवस्थामा लकडाउनबाट मारमा परेका बाकाचोलबासीलाई राहत जुटाउनेगरी अभियान थालिएको भए पनि नाजुक अवस्थाका अन्य स्थानीय तहका सर्वसाधारणलाई पनि राहत वितरण गरिएको सचिव पुरीले बताए। ‘हामी हुने व्यक्तीबाट सहयोग संकलन गरेर नहुने परिवारलाई राहत स्वरुप वितरण गरिरहेका गर्छाैँ’, सचिव पुरीले भने, ‘सुरुमा बाकाचोलका नागरिक लक्ष्यीत गरिए पनि समस्यामा परेका अन्य स्थानीयलाई पनि राहत बाँडिरहेका छौँ।’

 लकडाउनको मारमा परेका नागरिकको सहयोगार्थ सञ्चालन गरिएको अभियानमा नेपाल हेल्पिङ एजुकेसन फाउण्डेसनले सबैभन्दा बढि ३६ परिवारका लागि राहत उपलव्ध गराएको समाजले जनाएको छ। बौद्धस्थित तामाङ सेवा केन्द्रमा पुर्व कानुनमन्त्री शेरबहादुर तामाङ, प्रदेशसभा सांसद उषाकला राई लगायतको उपस्थितिमा समाजले लकडाउन पिडितलाई राहत बाँड्न सुरु गरेको थियो। राहत वितरण अभियान केही समय जारी रहने छ। 
यस्तै, खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले पनि काठमाण्डौंमा लकडाउनको मारमा परेका नागरिकको सहयोगार्थ ‘हुनेबाट लिने नहुलेनाई दिने’ अभियान चलाइरहेका छन्। लकडाउनको मारमा परेका विद्यार्थी, मजदुर, अपांग र असहायको सहयोगार्थ प्रतिनिधिसभा सदस्य भट्टराई, समाजसेवी देवान राई, भक्त थापा लगायत खटिएका छन्। हुने व्यक्तिबाट सहयोग मागेर लकडाउनको मारमा परेका पिडितलाई प्रदान गर्ने गरिएको अभियानमा संलग्न व्यक्तिहरुको भनाई छ। 

यस्तै, हलेसी तुवाचुङ नगरपालिका घर भई हाल काठमाडौं बसिरहेका अग्रजले स्थापना गरेको होलेसुङ समुहले पनि लकडाउन पिडित नगरबासीलाई राहत बाँडेको छ। काठमाडौं र भक्तपुरमा बसिरहेको अवस्थामा लकडाउन हुँदा समस्यामा परेका नगरपालिकाका मजदुर तथा विद्यार्थीलाई होलेसुङ समुहले खाद्यान्न बाँडेको हो। समाजसेबी जनकराज राई, पुर्वअधिकृत भूपेन्द्रकुमार राई, शिक्षक हम्बर राई, अध्यात्मिक गुरु नयनकुमार राई, युवा नेता जितेन्द्र ठकुरीको आर्थिक सहयोगमा लकडाउन पिडित १६ परिवारलाई राहत प्रदान गरिएको होलेसुङ समुहले जनाएको छ। 

 

प्रकाशित: २८ वैशाख २०७७ ०५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App