स्वास्थ्य

खोटाङका सबै पिसिआर रिपोर्ट ‘नेगेटिभ’

खोटाङ– नोबेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंका गरिएका खोटाङका सबै व्यक्तिको पिसिआर रिपोर्ट ‘नेगेटिभ’ आएको छ । र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) गर्नेका क्रममा जिल्लाबाट १७ जनाको नमूना (स्वाब) पिसिआरमा पठाइएकामा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।

पिसिआरका लागि खोटेहाङ गाउँपालिकाबाट ५ जना, हलेसी तुवाचुङ नगरपालिकाबाट ६ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ५ जना र जन्तेढुंगा गाउँपालिकाबाट १ जनाको नमूना पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । आरडिटिको सबै रिपोर्ट ‘नेगेटिभ’ देखिए पनि १० प्रतिशतको नमूना संकलन गरेर पिसिआरका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

यसभित्र फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी एक युवतीसँगै कतारबाट काठमाडौंसम्मको यात्रा गरेका जन्तेढुंगा गाउँपालिका–३ का एक युवा तथा उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट भागेपछि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा आफन्तको घरमा फेला परेका उदयपुर ठानागाउँका एक पुरुषको पिसिआर रिपोर्ट पनि समावेश छन् ।

विदेशबाट फर्किएका खोटाङका सबै व्यक्तीको कोरोना भाइरसको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) पनि रिपोर्ट ‘नेगेटिभ’ आएको छ । गत चैत यता विभिन्न देशबाट घर फर्किएका १० स्थानीय तहका १४१ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए/नभएको यकिन गर्नका लागि र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्दा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

प्रजिअ पौडेलका अनुसार पहिलो चरणमा रावाबेँसी गाउँपालिकाका ३ जना, साकेला गाउँपालिकाका १५ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २५ जना, हलेसी तुवाचुङ नगरपालिकाका २४ जना, केपीलासगढी गाउँपालिकाका ५ जना, ऐसेलुखर्क गाउँपालिकाका ५ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ८ जना, खोटेहाङ गाउँपालिकाका २८ जना, बराहपोखरी गाउँपालिकाका १ जना र जन्तेढुंगा गाउँपालिकाका २७ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट ‘नेगेटिभ’ आएको हो ।

रोजगारीका सिलसिलामा विभिन्न देश पुगेर घर फर्किएपछि क्वारेन्टीन वा होम क्वारेन्टीनमा राखिएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए÷नभएको थाहा पाउनका लागि जन्तेढुंगा गाउँपालिकाबाट बैसाख ३ गतेदेखि र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको थियो ।

प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण भए÷नभएको परीक्षण गर्ने किट पठाएपछि विदेशबाट फर्किएका व्यक्तिको र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको थियो । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि विदेशबाट १४० जना घर फर्किएका भए पनि चैत यता घर आएका व्यक्तिको मात्र र्‍यापिड डाइग्नोस्टिक टेष्ट गरिएको हो । उनीहरु अधिकांशलाई होम क्वारेन्टीनमै राखिएका छन् । मगाइएको किट आएपछि क्रमशः आरडिटी टेष्ट हुने प्रजिअ पौडेलले बताए ।

प्रकाशित: २२ वैशाख २०७७ १२:१९ सोमबार

पिसिआर कोरोना_भाइरस कोभिड–१९