स्वास्थ्य

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाद्वारा दीर्घरोगीलाई घरघरमै निःशुल्क औषधि वितरण सुरू

रसुवा– जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधि वितरण सुरू गरेको छ। गाउँपालिकाले दीर्घरोगीको घरघरमै गएर औषधि वितरण गर्न थालेको हो। लकडाउनको समयमा दीर्घरोगीलाई औषधि खरिदमा समस्या हुने र औषधि नपाउने लगायतका समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले घरघरमै औषधि पु¥याउन थालेको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए।

गाउँपालिकाभित्र करिब ४ सय दीर्घरोगी रहेको र उनीहरू सबै जनालाई औषधि घरमै पु¥याउने व्यवस्था मिलाइएको छ। यसले मुटु रोगी, किड्नीको समस्या, दम, उच्च रक्तचाप, मधुमेह तथा अन्य स्वास्थ्य समस्या भएका चार सय भन्दा बढी लाभान्वित भएका छन्। पहिलो चरणमा गाउँपालिकाले गाउँपालिका भित्र रहेका सबै घरहरूमा गएर बिरामीले नियमित प्रयोग गर्ने औषधिको तथ्याङ्क लिएको थियो। वडाका जनप्रतिनिधि, स्वास्थ्य स्वयम सेविका तथा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी मार्फत औषधि पुर्‍याइने छ। 

गाउँपालिकको लाङटाङ, टिमुरे, बृद्घिम, स्याफ्रु, धुन्चे लगायत छवटै वडाका स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, निजामती कर्मचारी गरी करिब चार सय जनाले नियमित औषधि सेवन गर्ने गरेका छन्। 
विशेषगरी पचास वर्ष उमेर नाघेका तथा बृद्घबृद्घाहरुले नियमित औषधि प्रयोग गरिरहेका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरले बताए। लकडाउनको समयमा औषधि ल्याउन नसकेको अवस्थामा गाउँपालिकाले घरमै ल्याइदिँदा खुशी लागेको धनमाया नेपालीले बताइन्। 

 

प्रकाशित: १९ वैशाख २०७७ १०:३० शुक्रबार

कोभिड–१९ लकडाउन औषधि