स्वास्थ्य

बिक्री भएन किसानको तरकारी

धादिङ- धादिङको दक्षिणी क्षेत्र तरकारी क्षेत्रका रुपमा प्रख्यात छ। यहाँ उत्पादन भएको तरकारीले राजधानी काठमाडौँको कालीमाटी, चितवन, पोखरा, नेपालगन्ज लगायतका बजार थेग्ने गर्दछ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन कारण किसानले उत्पादन गरेको तरकारी बिक्री हुन सकेको छैन। काठमाडौँसँग सीमाना जोडिएको धुनीबेसीको नौबिसे, धार्के लगायतमा लगाइएको तरकारी बिक्रि नहुदाँ किसानहरु चिन्तित बनेका छन्।

धुनीबेसी, थाक्रे लगायतको ठाउँ काठमाडौँको नजिकै दुरीमा हुदाँ पनि बजारसम्म तरकारी पुर्‍याउन नसक्नु र पुर्‍याएका तरकारी पनि बिक्रि नहुँदा तरकारी खेतबारीमै कुहित थालेको छ। काँक्रो, फर्सी, बन्दा, काउली लगायतको तरकारी टिपेर खेतकै गह्रागह्रामा थुपार्नु परेको थाक्रे गाउँपालिका वडा नं ७ सोप्याँटारका किसान रामबहादुर सुवेदीले बताए। ‘राजधानीबाट यति नजिकको सोप्याँटारमा गरिएको बेमौसमी तरकारी खेती खेतमै कुहिन थालेको छ’ उनले भने, ‘दुख गरेर बेमौसमी तरकारी लगायौँ केही कुहिएका छन्, केही टिपेर थुपार्नु परेको छ।’

नियमित तरकारी लिन आउने बिचौलियाहरू लकडाउनमा काठमाडौंमा तरकारी किन्ने मान्छे नभएको भन्दै भरसक भाउ घटाउन प्रयत्न गर्छन्। सस्तो मूल्यमा दिदाँ पनि लैजान नमानेपछि खेतमै थुप्रो लगाउनु परेको उनले बताए। लकडाउन नहुँदै टिप्ने समय नभएको र टिप्ने समयमा लकडाउनले बजार पठाउन नपाएको किसानहरूको भनाई छ। केही काउली, बन्दा र काँक्रो छिप्पिएर काम नलाग्ने भइसकेको छ। तरकारीको बिक्रिले नै घरखर्च टार्ने किसानहरु आम्दानी नभएपछि मर्कामा परेका छन्।  

कालीमाटी तरकारी बजारलाई दैनिक २६ प्रतिशत तरकारी निर्यात गरी रहेका जिल्लाका किसान यतिबेला तरकारीले भाउ नपाउँदा संकटमा छन्। गत साल यसै मौसममा आउने बिचौलियाहरू तरकारीको थोक मूल्यमा बढाबढ गर्थे, तर यसपाली प्रतिकेजी ५ रुपैयाँदेखि १० रुपैयाँमा पनि तरकारी लिन नमानेको सुवेदीले बताए। उनले ५० क्विन्टल फर्सी टिपेर बारीमा थुपारेका छन्।

लकडाउनले बजार, सवारीसाधन बन्द रहेका बेला तरकारी संकलन केन्द्रहरु पनि यतिबेला सुनसान छ। सधैँ किसानले ल्याउने तरकारीले भरिभराउ हुने जिल्लाका ठूला तरकारी संकलन केन्द्रहरू चरौंदी, विशालटार, मलेखु, गजुरी, आदमघाट, धार्के, थाक्रे लगायतका तरकारी संकलन केन्द्र यतिखेर सुनसान छन्। कम मूल्यमा पनि तरकारी बिक्रि नभएपछि चिन्तित बनेका किसानहरु लकडाउनले भएका अन्य तरकारी पनि बिक्री नभएपछि मारमा परेका छन्।

सरकारले अत्यावश्यकीय वस्तुको निर्वाध आपूर्ति गर्ने व्यवस्था गर्ने भने पनि लकडाउनको प्रत्यक्ष प्रभाव भने धादिङका बेमौसमी तरकारी उत्पादक किसानमा परेको छ। कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले छिटै नष्ट हुने तथा दैनिक अत्यावश्यकीय वस्तु दूध, फलफूल, तरकारी लगायतले बजार पाएका छैनन्। यता बजारमा भने महङगो मूल्य तिरेर तरकारी किन्नु परेको उपभोक्ताहरुको गुनासो छ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र तरकारी, फलफूल र खाद्यन्न आयातमा रोक लगाइएको छ। बैशाख ३ गतेदेखि १० गतेसम्मका लागि तराईका जिल्ला र काठमाडौँबाट जिल्लामा ढुवानी भइरहेको हरियो तरकारी, फलफूल, खाद्यन्न लगायतका सामानहरु ल्याउन रोक लगाइएको हो। जिल्लामा रहेका पसल, बैक तथा वितिय संस्था, इन्सुरेन्स कम्पनी, यातयात लगायतका क्षेत्रहरु खोल्न पूर्ण रुपमा रोक लगाइएको छ। जिल्लाभित्र रहेका औषधी पसलहरु सामाजिक दुरी कायम गरी सुरक्षाका सम्पूर्ण उपायहरु अपनाई सुचारु गर्न आग्रह गरिएको छ।

 

प्रकाशित: १० वैशाख २०७७ ०३:१६ बुधबार

तरकारी किसान लकडाउन कोरोना_भाइरस