स्वास्थ्य

संक्रमणको त्रास मान्छन् एम्बुलेन्स चालक

खोटाङ– बैसाख ५ गते बीरगञ्जका ४५ वर्षीय पुरुष खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा फेला परे । उनलाई एम्बुलेन्समार्फत दिक्तेलको माटिकोरेमा बनाइएको क्वारेन्टीनमा ल्याएर राख्ने तयार गरियो तर एम्बुलेन्सका चालक हत्तपत्त उनलाई लिन जान तयार भएनन् ।

यस्तै, बैसाख ६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क आइपुगेका भोजपुरका तीन जनालाई क्वारेन्टीनसम्म ल्याउनका लागि पनि एम्बुलेन्स चालकलाई निकै सम्झाई बुझाई गर्नु परेको सोही नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । ‘एम्बुलेन्स चालकले संक्रमणको आशंका गरिएका व्यक्तिलाई बोक्न मान्दैन,’ मेयर रिजालले भने, ‘भनेको समयमा एम्बुलेन्स चालक तयार नहुँदा संक्रमणको आशंका गरिएका व्यक्तिलाई क्वारेन्टीनमा पुर्‍याउन समेत असहन भइरहेको छ ।’

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा क्वारेन्टीनमा राखिने व्यक्तिलाई बोक्नका एम्बुलेन्स चालक हिचकिचाउने गरेका छन् । परिवारले समेत संक्रमणको आशंका गरिएका व्यक्ति नबोक्न दबाव दिने गरेका कारण कतिपय एम्बुलेन्सका चालक ‘संक्रमण हुने’ भन्दै पछि हट्ने गरेका छन् । जिल्लाका विभिन्न पालिकामा खोटाङ सेवा समाज यूकेले प्रदान गरेको ७ वटा लगायतका एम्बुलेन्स सञ्चालनमा छन् तर संक्रमणको आशंका गरिएका व्यक्तिलाई बोक्नका लागि एम्बुलेन्स चालकले त्रास मान्ने गरेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको केही समयअघिको बैठकले महामारीकाक्रममा संक्रमित वा आशंका गरिएका व्यक्तिलाई बोक्नका लागि एम्बुलेन्स र चालकलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको थियो । यस बाहेक आवश्यक पर्दा अन्य सरकारी कार्यालयका सवारी चालकलाई समेत उपयोग गर्नेगरी प्रशासनमार्फत तयारी अवस्थामा राख्नका लागि भनिएको कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए ।

संक्रमणको आशंका गरिएका व्यक्तिलाई एक पटक बोकेपछि त्यही चालकलाई दोहोर्‍याएर अर्को पटक बोकाउन समेत जोखिमपूर्ण देखिएको छ । एम्बुलेन्स चालकलाई पिपिई लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीको समेत व्यवस्था गरिएको चाम्लिङले बताए ।

जिल्लामा खोटाङ सेवा समाज यूकेले प्रदान गरेको बाहेक खोटाङ सेवा समाज दोहा कतारको पहल प्राप्त भएको १ वटा, विभिन्न दातृराष्ट्र लगायतको सहयोगमा जिल्ला अस्पताल, नेपाल रेडक्रस सोसाइटी, भारतीय वेलफेयर लगायतलाई प्राप्त भएको एम्बुलेन्स सञ्चालनमा छन् ।

प्रकाशित: ९ वैशाख २०७७ १७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App