स्वास्थ्य

दीर्घ रोगीलाई घर–घरै निःशुल्क औषधि

दीर्घ रोगीलाई वितरणका लागि गर्न औषधि प्याकिङ गर्दै गाउँपालिकाका कर्मचारी। तस्बिर : नागरिक

सिन्धुपाल्चोक – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित उच्च जोखिममा रहेका दीर्घ रोगीलाई हेलम्बु गाउँपालिकाले निःशुल्क औषधि उपलब्ध गराउन थालेको छ। रोगीका घर–घरमा टोली परिचालन गरेर शनिबारदेखि औषधि वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए। ‘लकडाउनको समयमा औषधी किन्न बजार निस्कन असहज भएपछि गाउँपालिकाले दीर्घरोगीलाई औषधिको व्यवस्था गरेको हो,’ उनले नागरिकसँग भने। उनका अनुसार प्रेसर, सुगर, दम, ढाड, नसा र मुटुरोगीले घरमै औषधि  पाउने छन्। 

टाढाका रोगीलाई एक महिना र नजिककालाई १५ दिनको लागि पुग्ने गरी औषधि वितरण भइरहेको छ। लकडाउन लम्बिन सक्ने सम्भावना देखेपछि दीर्घरोगीका लागि तीन महिनालाई पुग्ने गरी औषधि गोदाम गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए। ‘औषधी सकिए पछि पुनः घरमै उपलब्ध गराउने गरी व्यवस्थापन गरेका छौँ,’ उनले भने । 

गाउँपालिकाले औषधि पाउनेको सूचीमा तत्काललाई डेढ सय बिरामीलाई समेटेको छ। यो संख्या बढेर दुई सयसम्म पुग्न सक्ने गाउँपालिकाको अनुमान छ। यसअघि गाउँपालिकाले कारोनाको लक्षणसंग मिल्ने रुघाखोकी र ज्वरो जाँच्न गाउँ–गाउँमा स्वास्थ्य अभियान नै चलाएको थियो। सो क्रममा औषधिसहित चिकित्सकको टोली गाउँपालिकाका पाँच हजार घरमा पुगेर सेवा दिएको थियो। सो क्रममा सबैभन्दा बढी प्रेसरका रोगी भेटिएका थिए।

स्वास्थ्य अभियानकै क्रममा ठूलो संख्याका दीर्घरोगी भेटिएपछि निःशुल्क औषधि वितरण गर्न गाउँपालिकाले विशेष निर्णय गरेको अध्यक्ष शेर्पाले जानकारी दिए। ‘कतिपय दीर्घरोगीको औषधि सकिएको र धेरैले महंगो मुल्यका कारण बीचमै औषधि छोडेको पाइएपछि यो निर्णय लिएका थियौं’,  उनले भने। उनका अनुसार कोरोना भाइरसको संक्रमणले दीर्घरोगीलाई बढी असर गर्ने बुझेपछि उनीहरुका लागि औषधि जोहो गर्नु परेको हो।  

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिक्रेलका अनुसार सुगर, प्रेसर, दम, मुटु, नसा लगायत रोगका औषधि सरकारले निःशुल्क वितरण  गर्ने सूचीमा पर्दैन। यस्ता औषधि महंगोसमेत पर्छन्। त्यसैले किन्नु पर्दा दीर्घरोगीले बीचमै औषधि छोड्ने र रोग पालेर बस्ने गरेका छन्। गाउँपालिकामा एउटै दीर्घरोगीले मासिक १५ हजार रुपैयाँसम्मको औषधि  सेवन गर्ने गरेको पाइएको उनले जानकारी दिए। अर्को आर्थिक वर्षपछि गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क निरन्तर औषधि वितरण गर्ने योजना अघि सारेको जनाएको छ। 

 

प्रकाशित: ६ वैशाख २०७७ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App