स्वास्थ्य

चर्को भाडा असुल्दै तरकारीसंगै यात्रु ओसार्छन् व्यवसायीहरू

दाङ – भारतबाट तरकारी ढुवानी गर्ने गाडीहरूले नागरिकहरू ओसार्न थालेका छन्। भारतमा अलपत्र परेका नागरिकहरूलाई महंगो भाडा असुलेर तरकारी ढुवानी गर्ने गाडीहरूले दाङ भित्र्याउने गरेको स्थानीय प्रशासनले जानकारी दिएको छ। तरकारीसंगै भारतमा रहेका नेपालीहरूलाई समेत जिल्ला भित्र्याएको पाईएपछि जिल्लामा कोरोना संक्रमणको त्रास झनै बढेको छ। तरकारी ढुवानी गर्ने गाडीहरूले व्यक्तिहरू समेत ओसार्न थालेपछि तुलसीपुरमा दुईवटा पसल बन्द गरिएको छ, भने व्यक्ति ओसार्ने गरेको एउटा गाडी समेत नियन्त्रणमा लिईएको छ। यसैगरि दुईजना पसल सञ्चालक र गाडीका चालक तथा सहचालक गरि दुईजनालाई आइसोलेसनमा राखिएको छ।  

‘भारतबाट आयात हुने तरकारीका कारण कोरोना संक्रमणको खतरा रहेको भन्दै स्थानीयहरूले बिरोध गरेपछि भारतबाट तरकारी आयात गरेर बिक्री गर्दै आएका दुईवटा पसल बन्द गरिएका छन्,’ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, डिएसपी हरिहरनाथ योगीले भने । सरकारले भारतबाट तरकारी आयातमा प्रतिवन्ध लगाउने कुनै निर्णय भने गरेको छैन। तथापी भारतमा कोरोनाको संक्रमण बढ्दै गएको र त्यहीँँबाट आउने तरकारीका कारण कोरोना संक्रमणको जोखिम रहने भन्दै स्थानीयले भारतीय तरकारी आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाउनु पर्ने माग राखेका छन्। तुलसीपुर संगै घोराहीमा पनि भारतबाट आयात तरकारी विक्री वितरण भैरहेको छ। लकडाउनका कारण घरघरमा तरकारी पुर्याउँदै आएका केहि व्यवसायीहरुले भारतबाट आयात गरेर बिक्री गर्ने गरेका छन्। मंगलवार तुलसीपुरमा पक्राउ परेको गाडी तरकारी लिएर घोराही आउँदै गरेको थियो। ‘भारतबाट तुलसीपुर हुँदै तरकारी लिएर घोराही जान थालेको गाडी नियन्त्रणमा लिईएको हो,’ डिएसपी योगीले भने। 

भारतबाट तरकारी आयातमा पूर्ण रुपमा प्रतिवन्ध लगाउनु पर्ने माग उठिरहेका बेला यस्ता तरकारी आयात गर्ने व्यवसायिहरुले ति गाडीमै भारतबाट मानिस समेत बोक्ने गरेका छन्। प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भारतबाट आयात हुने तरकारीका गाडीहरूमार्फत मानिस समेत आउने गरेको वताए। भारतबाट जिल्लामा भित्रने तरकारी नेपालगन्ज र कृष्णनगर नाका हुँदै आउने गर्दछ। ‘तरकारी आयातमा सरकारले प्रतिवन्ध लगाएको छैन, तर केहि तरकारी व्यवसायिहरूले महंगो भाडामा मान्छेहरू समेत भारतबाट ओसार्ने गरेको पाईएको छ,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने ‘यस्तो बदमासी गर्नेहरूलाई हामीहरूले उच्च निगरानीमा राखेका छौं।’ अहिले सरकारले सबै नाकाहरु बन्द गरेर नागरिक आवात जावतमा पूर्ण प्रतिवन्ध लगाएको छ। यसैको मौका छोपी तरकारी ढुवानीका नाममा तरकारी व्यवसायिहरुले व्यक्तिहरु समेत महंगो भाडा असुलेर ओसार्ने गरेको प्रमुख जिल्ला अधिकारी रिजालले वताए। ‘चेकपोष्ट आएपछि मान्छेहरु ओराल्ने अनि टाढा लगेर गाडी रोक्ने र मान्छेहरुलाई पैदल हिँड्न भन्ने,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने ‘अनि चेकपोष्ट छलेर उनै मान्छेहरुलाई गाडीमा हालेर ल्याउने चलाखी भएको छ।’

भारतमा रहेका कैयन नागरिकहरू चेकपोष्ट छलेर लुकिछिपी वारी आईपुग्छन्। अनि यिनै तरकारी ढुवानी गर्ने गाडीहरूले ओसार्ने गर्दछन्। ‘कपिलवस्तु र बाँकेबाट हामीहरुलाई यस्तो खालको बद्मासी भएको भन्ने खवर आएपछि कडाई गर्‍यौं,’ उनले भने ‘यसरी मान्छे बोकेकै कारण केहि पसलहरु बन्द गरिएका हुन् भने गाडी पनि नियन्त्रणमा लिईएको छ।’ उनले तरकारी ढुवानीका नाममा चरम बद्मासी भएको भन्दै यसको नियन्त्रणका लागि ब्यापक निगरानी बढाईएको वताए। ‘भारतबाट तरकारी बोकेर आउने गाडीहरुमा हाम्रो उच्च निगरानी छ,’ उनले भने ‘जसले अवैध रुपमा यात्रु बोकेर आउँछ , तिनीहरुलाई हदै सम्मको कारबाही गर्छाैं।’


 

प्रकाशित: २ वैशाख २०७७ १२:०२ मंगलबार

व्यवसायी तरकारी यात्रु