स्वास्थ्य

नियमित औषधि सेवन गरिरहेकाहरुलाई स्थानीय तहको साथ

नुवाकोट- विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण हुन नदिन र नियन्त्रण गर्नलाई सिङ्गो नेपाल लकडाउनको अवस्थामा छ। अत्यावस्यक काम बाहेक घरबाट बाहिर ननिस्कन सरकारले आग्रह गरिरहेको छ।

यो अवस्थामा नियमित औषधि सेवन गर्नुपर्ने नागरिकहरुलाई समस्या परेको देखेर नुवाकोटको २ स्थानीय तहले मागको आधारमा औषधी उपलव्ध गराउन थालेको छ। जिल्लाको तादी गाउँपालिका र सूर्यगढी गाउँपालिकाले दीर्घ रोगीहरुको औषधि खरिद गरी सम्बन्धित व्यक्तिलाई प्रदान गर्दै आइरहेको छ। उच्च रक्तचाप, सुगर, मुटु रोग, मानसिक रोग, दम लगायतका दीर्घ रोगका औषधि आवस्यकता परेमा अस्पतालले सिफारिस गरेको पत्रको फोटोकपी स्थानीय तहमा उपलव्ध गराएमा औषधि ल्याउनको लागि सहजिकरण गरिने तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डेले बताए। तादी गाउँपालिकाले सोमबार ५१ जनाको औषधि ल्याएको अध्यक्ष पाण्डेले बताए।

'लकडाउनको समय छ। विरामीहरुलाई औषधि लिन जानको लागि कठिन परिस्थिति आइपरेको छ। यसैलाई महसुस गरेर गाउँपालिकाले मागको आधारमा खरिद गरी उनीहरुबाट शुल्क नलिइ उपलव्ध गराएका छौँ,' अध्यक्ष पाण्डेले भने, 'कतिपयको जीवन औषधिले नै धानिरहेको हुन्छ। औषधि सकिएर कुनै नागरिक समस्यामा नपरुन् भन्ने गाउँपालिकाको मान्यता हो।'

यता सूर्यगढी गाउँपालिकाले पनि नियमित औषधि सेवन गर्दै आइरहेकाहरुलाई एक महिनाको औषधि उपलव्ध गराउन थालेको छ। गाउँपालिकाले सोमबार २ जनालाई औषधि उपलव्ध गराइसकेको अध्यक्ष सन्तबहादुर घलेले बताए। औषधि सकिएको भएमा जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुलाई जानकारी गराउन समेत अध्यक्ष घलेले आग्रह गरेका छन्।

यस्तै दुप्चेश्वर गाउँपालिकाले नियमित औषधि प्रयोग गर्दै आएका विरामीहरुको औषधि सकिएमा ल्याउनको लागि सहजकिरण गर्ने भएको छ।

प्रकाशित: २ वैशाख २०७७ ०९:०१ मंगलबार

औषधि स्थानीय_तह