स्वास्थ्य

कोरोनाका कारण फेरियो नयाँ वर्षको शुभकामना सन्देश

ताप्लेजुङ – प्रदेश १ नं का सांसद प्रतापप्रकाश हाङ्गामले ताप्लेजुङका सञ्चार माध्यममा नयाँ बर्षको शुभकामना दिदैं भने ‘कोरोनाका कारण यो पटकको नयाँ बर्ष क्वारेन्टाइन मै बिताऔं’ । प्रदेशसभाका अर्का सांसद बलबहादुर साम्सोहाङले पनि २०७७ साल प्रवेशको वर्ष उल्लासमा नभएर कोरोनासंग लड्ने सार्मथ्य निर्माणमा केन्द्रित हुन सल्लाह दिदैं नयाँसालको शुभकामना दिएका छन्। कोरोनाको संक्रमणबाट बच्ने उपाय भनेको भिडभाडबाट अलग र शान्त र संयम भएर बस्नु नै उत्तम उपाय भएको उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन्। 

स्थानीय सञ्चार माध्यममा जनप्रतिनिधि, संघसंस्था वा निकायद्धारा प्रदान हुने नयाँ बर्षको शुभकामनामा नयाँ वर्ष  अघिल्ला वर्षहरूमा जस्तो उल्लासका कुरा समेटिएका छैनन्। यी  प्रतिनिधि उदाहरणले पनि यसपटक नयाँ वर्षको शुभकामना दिनेहरूले कोरोना भाइरसको संक्रमणबाट बच्ने उपाय र लक डाउनको पालना केन्द्रित सन्देशहरु बाँडिएको प्रष्ट पार्छ। ताप्लेजुङका अधिकाशं स्थानीय तह र वडाहरूले यसबर्षको शुभकाना सन्देशमा लक डाउनको पूर्ण पालना र कोराना भाईरसबाट बच्न अपनाउनुपर्ने उपाय केन्द्रित सन्देश दिएका छन्।

फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले बिश्व महामारीको रुपमा रहेको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सबै तहका सरकारको पहलदमी जरुरी रहेको भन्दै यो पटकको नयाँसाल उल्लासपूर्ण भन्दा पनि सचेतपूर्ण बर्षको रुपमा रहने बताए। महामारी नियन्त्रण भएर यसबाट जोगिन सकिएमा आगामी बर्षमा उल्ल्लास बाँड्न सकिने प्याकुरेलले बताए। सिरिजङ्घा गाउँपालिका गाउँपालिका वडा नं १ का वडाध्यक्ष उर्मिला थेबेले यस पटकको नयाँ साल घरमै र सुरक्षित ढंगले मनाउने योजना सुनाईन्। अनुशासित ढंगले लक डाउनको पालना गर्न सकेमा नयाँ बर्ष २०७७ समृद्धिको बर्ष बनाउन सकिने उनको बिश्वास छ। मिक्वाखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष सुरेश थापाले सन्त्रासपूर्ण समयमा उल्लास भन्दा पनि संयम र सचेत बन्न जरुरी रहेको भन्दै यो बेला लक डाउनको पूर्ण पालना गर्ने सद्बुद्धिका लागि नयाँ साल सबैको प्रेरणाको बर्ष बनोस् भन्ने सन्देश दिएका छन्। 

स्थानीय राजनीतिक दलका अगुवाहरुको नयाँ बर्षको सन्देश पनि कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि केन्द्रित देखिन्छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष बिजयप्रकाश वनेमले बिश्वनै भयपूर्ण भएको समयमा सरकारले कोरोना भाईरस नियन्त्रणका लागि अपनाएका लकडाउन सहितका उपायको पूर्ण पालना गर्न आग्रह गर्दै नयाँ बर्षको शुभकामना दिएका छन्। नेपाली काँग्रेसका जिल्ला सभापति लिलादेवी बोखिमले कोरोना भाइरसको संक्रमणबाट बच्ने सबैभन्दा उत्तम औषधि भनेकै घरमै सुरक्षित बस्ने,अनावश्यक हिड्डुल नगर्ने, भिडभाडबाटै टाढै रहने, साबुनपानीले नियमित हात धोई रहनुपर्ने जस्ता कारण प्रमुख रहेको भन्दै यसो गर्न सकेमा नयाँ सालले दिएको उपहार ठान्न आग्रह गर्दै नयाँ बर्षको शुभकामना सन्देश दिएकी छन्।

समाजवादी पार्टी नेपालका कीर्तिमान मादेनले नयाँ बर्षको शुभकामना सन्देशमा आम नागरिकले लक डाउनको पूर्ण पालनामा जोड दिन आवश्यक रहेको भन्दै संयम, धैर्य र सकेसम्म घरमै बसेर कोरोना बिरुद्धको लडाईमा बिजय हाँसिल गर्ने प्रेरणा मिलोस् भन्ने सन्देश दिएका छन्। 
 

प्रकाशित: ३० चैत्र २०७६ १०:२४ आइतबार

नयाँ_वर्ष शुभकामना सन्देश