स्वास्थ्य

कोरोना कहर : किसान बेच्छन्, स्थानीय सरकार किन्छन्

गाउँपालिकालाई काउली बिक्री गर्न तौलिँदै डाँडागाउँका महिला किसान। तस्बिर : नागरिक

खोटाङ – कोरोना भाइरस (कोभिड–१९)का कारण हाल बिश्व नै आक्रान्त छ। कोरोना भाइरसको संक्रमण फैलिने त्रासका कारण हाल शहर, बजारदेखि व्यापारिक केन्द्र ठप्प छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण गाउँ–गाउँका हाटबजार पनि बन्द छ। गाउँघरमा लाग्ने साप्ताहिक हाटबजार बन्द हुँदा अधिकांश किसानले दश नंग्रा खियाएर उत्पादन गरेको तरकारीले बजार पाउन छाडेको छ। बजार बन्द हुँदा आम किसानले उत्पादत गरेका तरकारी बारीमै कुहिएर र सकिएर खेर जाने अवस्थामा पुगेको छ।

 खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका किसानलाई भने ‘लकडाउन’को अवधिमा पनि बजारको चिन्ता छैन। ‘लकडाउन’का कारण हाटबजार बन्द भए पनि स्थानीय सरकारले भनेको मूल्यामा तरकारी खरिद गरिदिन थालेपछि ७ वडाका किसानलाई बजारको चिन्ता हटेको हो। किसानले उत्पादन गरेका तरकारीको बजार सुनिश्चितताका लागि खरिद गर्न वडा–वडामा खबर पठाएको गाउँपालिकाका प्रतिनिधि तरकारी उठाउनका लागि ट्याक्टर लिएर गाउँ–गाउँमा पुग्ने गरेका छन्। 

‘लकडाउन’को मारमा परेका दलित, अल्पसंख्यक तथा सिमान्तकृत, एकल महिला, ‘क’ बर्गको अपांग, विपन्न तथा सुकुम्बासी परिवारलाई खाद्यान्न सँगै तरकारी बितरणका लागि गाउँपालिकाले किसानको आलु, बन्दा र काउली खरिद गरिदिन थालेको हो। तीन दिनको अवधिमा विभिन्न वडाका किसानले उत्पादन गरेका आलु, काउली र बन्दा गरी ७ सय ८५ केजी तरकारी किसानकै मूल्यामा खरिद गरिसकिएको गाउँपालिकाले जनाएको छ। खेर जाने अवस्थामा पुगेको तरकारी स्थानीय सरकारले किनिदिएपछि ‘लकडाउन’को मारमा परेका किसानले राहतको महसुस गरेका छन्। शुक्रबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा र दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका किसानले उत्पादन गरेको ११ हजार ७ सय बराबरको ४ सय ६८ केजी आलु र ८ सय बराबरको २५ केजी बन्दा खरिद गरेर खाद्यान्नसंगै अन्य परिवारलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।

‘लकडाउन’का कारण बजार नपाउँदा अधिकांश तरकारी कुहिने र सडिने अवस्थामा पुग्दा मारमा परेका किसानको राहतका लागि गाउँपालिकाले तरकारी खरिद गरिदिने निती अवलम्बन गरेको हो। ‘लकडाउन’का कारण हाटबजार रोकिएको छ। तरकारी कुहिएर र सडिएर खेर जाने अवस्थामा चिन्तित बनेका किसानको सहयोगका लागि गाउँपालिकाले खरिद गरिदिन थालेको हो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘लकडाउनमा किसानले उत्पादन गरेका कुनै पनि कृषि उपजले बजार पाउँदैन, कुहिएर वा सडेर जान्छ भनेर चिन्ता गर्नु पर्दैन। स्थानीय सरकारले बजारको जिम्म लिन्छ ।’ 

चैत २७ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँकै किसानले उत्पादन गरेको ४ हजार ३८४ रुपैयाँ बराबरको ११२ केजी बन्दा र २० केजी काउली खरिद गरिएको थियो। यस्तै, चैत २६ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका आठ किसान र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका एक किसानले लगाएको १२८ केजी काउली प्रतिकेजी ४० रुपैयाँ र ८२ केजी बन्दा प्रतिकेजी ३२ रूपैयाँका दरले खरिद गरिदिएको गाउँपालिका अध्यक्ष राईले बताए। क्रमशः अन्य वडाका किसानले उत्पादन गरेको तरकारी खरिद गरेर अन्य स्थानीयलाई खाद्यान्नसंगै वितरण गर्ने गाउँपालिकाले जनाएको छ। 
 

 

प्रकाशित: २९ चैत्र २०७६ ०८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App