स्वास्थ्य

छिमेकी बजारमा संक्रमित देखिएपछि मर्चवार त्रसित

भैरहवा- मर्चवार नजिकैको भारतीय बजार क्षेत्र कोल्हुईमा कोरोना संक्रमित देखिएपछि यस क्षेत्रका नागरिक त्रसित बनेका छन्। नेपालसँगै टाँसिएका भारतको कोल्हुई र पुरन्दरपुर थाना क्षेत्रका ६ जना विरामीमा कोरोनाको संक्रमित पुष्टी भएपछि शनिबार विहानैदेखि सीमा क्षेत्रका स्थानीय त्रसित छन्ं। टासिएको मर्चवार क्षेत्र पनि संक्रमित हुन सक्ने भन्दै उच्च सावधानी अपनाउन स्थानीय सरकारले आग्रह गरेको छन्।

संक्रमितहरु दिल्लीको तबलिगी मरकजमा सहभागी भई आएको हुन्। बुधबार नियन्त्रणमा लिएका उनीहरुलाई बीआरडी मेडिकल कालेज गोरखपुरमा नमुना परीक्षण गरी पोजेटीभ देखिएपछि नजिकै शनिबार विहानै मिठौरास्थित सामुदायिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको छ। संक्रमितसँगै परिवारका २३ जना शंकास्पदलाई जिल्ला अस्पतालको क्वारेन्टाइनमा राखिएको भारतीय प्रशासनले जनाएको छ।

कोल्हुइ मर्चवार क्षेत्रका बासिन्दाको प्रमुख बजार क्षेत्र हो खुला सिमानाका कारण दर्जनौ सडकबाट मर्चवारीबासी दैनिक रुपमा पुग्ने गरेका छन्। उक्त क्षेत्रबाट तरकारीहरु पनि साइकल मोटरसाइकलबाट मर्चवार हुँदै नेपाली बजारमा आउने गर्दछन्। शहरी क्षेत्रमा लकडाउनको प्रभाव देखिए पनि अझै पनि मर्चवार क्षेत्रमा लकडाउनको प्रभाव नदेखिएकोले यो क्षेत्रमा जोखिम बढेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले कोरोना देखिएसँगै मर्चवार क्षेत्रमा सुरक्षामा थप कडाई गरिएको छ, सीमा क्षेत्रको ओहोरदोहर हुने सम्भावित सबै ठाउँमा प्रहरी तैनाथ गरेका छौ। सीमा क्षेत्रबाट अवैध रुपमा आवतजावत गर्ने जो सुकैलाई पनि पक्राउ गरि क्वारेन्टाइनमा राखिने र कानुन अनुसार कारवाही गरिने खत्रीले बताए।

स्थानीय सरकारहरुले पनि आआफ्नो क्षेत्रबाट चेतनामुलक जानकारी र सर्तकता अपनाइरहेका छन्। प्रहरीसंगै त्यस क्षेत्रमा स्थानीय तहहरुले पनि सीमामा निगरानी बढाउन र नेपाल आउने ब्यक्तिको बारेमा जानकारी दिन प्रशासनले आग्रह गरेको छ।

मर्चवारका स्थानीयले भने मुख्य मुख्य नाकाहरुमा मात्र नेपाल प्रहरी र सशस्त्र प्रहरी २४ घण्टै तैनाथ रहेको बताए। खुला सीमाका कारण चोरबाटो धेरै छन् सिमित सुरक्षाकर्मीले होला उक्त क्षेत्रमा गस्ती मात्र हुने गरेको छ। कोल्हुईबाट सबै भन्दा नजिकको नाका खैरा भएपनि ठोठरी, कदम्हवा, पैसिया, चन्नी, थुम्हवा लगायातका नाकाबाट नेपाल भारत ओहोरदोहोर हुँदै आइरहेको थियो।

प्रकाशित: २२ चैत्र २०७६ १०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App