स्वास्थ्य

झुलाघाटमा अलपत्र  १८६ नेपालीको उद्धार

बैतडी – जिल्लाको सीमा जोडिएको भारतको झुुलाघाटमा चार दिनदेखि अलपत्र परेका एक सय ८६ जनाको उद्धार गरिएको छ। लकडाउन पश्चात मंगलबारदेखि सीमानाका झुुलाघाटमा अलपत्र परेका सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिकलाई शुुक्रबार मध्यरातमा उद्धार  गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

भारतका विभिन्न क्षेत्रमा काम गर्दै आएका उनीहरु लकडाउन भएपछि हिडेर सीमा बजार झुलाघाट पुगेका हुन्। नेपाल र भारत दुवै देशले लकडाउनपछि सीमानाका बन्द गर्दा झुलाघाटमै अलपत्र परेका उनीहरुको उद्धार गरिएको हो।

उद्धार गरिनेमा बैतडीका विभिन्न स्थानीय तह ९४ जना, बझाङका ८२,  डडेल्धुराका ९ र कैलाली जिल्लाका एक जना गरी एक सय ८६ जनाको उद्धार गरिएको हो। उनीहरूलाई क्वारेन्टाइनमा राख्ने गरि सम्बन्धित जिल्लामा पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपि डिल्लीनारायण पाण्डेयले जानकारी दिए। 

प्रकाशित: १५ चैत्र २०७६ ०६:१४ शनिबार

कोभिड–१९ सीमा नेपाली उद्धार