नेपालगन्ज- विश्वभरी महामारीको रुपमा फैलिएका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण हुनबाट जोगाउन विभिन्न निकायले आ–आफ्नो क्षेत्रबाट सहयोग जुटाउन थालेका छन्। यसका लागि विभिन्न कोष खडा गरी व्यक्तिगत र संस्थागत रुपमा सहयोग संकलन गरिएको छ। यसैक्रममा बाँकेको डुडुवा गाउँपालिकाले ७ लाखको ‘आकस्मिक कोष’ स्थापना गरेको छ।
उक्त कोषमा गाउँपालिका अन्र्तगत रहेका सम्पूर्ण कर्मचारीले तीन दिन बराबरको पारिश्रमिक जम्मा गर्ने भएका छन्। गाउँपालिकाको ‘आरआरटी’ बैठकले कोरोनाबाट उत्पन्न जटिल समस्याको व्यवस्थापन तथा कार्यान्वयनका लागि ७ लाख रुपैयाँको आकस्मिक कोष बनाउने निर्णय गरेको अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए। बैठकले कोषमा थप रकम जम्मा गर्न सबैमा आब्हान समेत गरेको उनले बताए।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायका अनुसार उक्त कोषमा कर्मचारीले तीन दिन बराबरको पारिश्रमिक जम्मा गर्नेछन्। गाउँपालिका अन्र्तगत विभिन्न शाखामा कार्यरत करिब २ सय ५० बढी कर्मचारीले आफूले पाउने पारिश्रमिकबाट ३ दिनको पारिश्रमिक जम्मा गर्ने उपाध्यायले बताए। ‘यस्तो जटिल संकटको अवस्थामा मानवीय सहयोगका लागि पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिएको हो,’ उनले भने।
उक्त गाउँपालिकाले ३० शैयाको क्वारेन्टाइन बनाउन पनि सुरु गरेको छ। गाउँपालिकाको वडा नम्बर २ बेतहनी स्वास्थ्य चौकी र वडा नम्बर ४ स्थित आधारभुत विद्यालय शाहपूर्वामा १०/१० वटा शैयाको क्वारेन्टाइन बनाउन लागिएको हो। भारतीय सीमासँग जोडिएको गाउँपालिकाभित्र सीमापारीबाट समेत मानिसहरु आउने भएकाले र सरकारको नीति अनुसार क्वारेन्टाइन बनाउन थालिएको अध्यक्ष चौधरीले प्रष्ट्याए।
अहिले तत्काल दुई वटा स्थानमा १० शैयाको क्वारेन्टाइन बनाउने र पछि आवश्यकता अनुसार १० शैयाको क्वारेन्टाइन बनाउने लक्ष्य राखिएको उनले सुनाए। गाउँपालिकाले हरेक नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रत्येक घरधुरीलाई साबुन र मास्कको व्यवस्थापन समेत गरेको जनाएको छ।
प्रकाशित: १४ चैत्र २०७६ ०९:५२ शुक्रबार