स्वास्थ्य

रुपन्देहीमा लकडाउन उल्लंघन गर्ने दुई सय सवारी साधनसहित तीनजना पक्राउ

बुटवल- रुपन्देहीमा सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै चलाइएका दुई सय बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुटवल, भैरहवा लगायतका क्षेत्रबाट २ सय बढी सवारी साधान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए। सबैभन्दा धेरै बुटवल र आसपासका क्षेत्रबाट करिब दुई सयको संख्यामा मोटरसाइकल, स्कुटर र केही कारहरु नियन्त्रणमा लिइएको छ। भैरहवामा १२ वटा मोटरसाइकल, १५ वटा साइकल र एउटा अटोलाई नियन्त्रणमा लिइएको डिएसपि खत्रीले जानकारी दिए।

फेरी गल्ती नदोहोरयाउने सर्तमा एक पटकलाई कागज गराएर साँझ मात्रै ती सवारी साधन जिम्मा लगाइने प्रहरीले बताएको छ। नियन्त्रणमा लिइएका सवारी साधनहरु प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी बुटवल, जिल्ला प्रहरी भैरहवा, वडा कार्यालय रामनगरमा राखिएका छन्। त्यस्तै मादक पदार्थ सेवन गरेर मोटरसाइकलमा हिडेका दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। सडकमा होहल्ला गर्दै हिड्ने तीन जनालाई बुटवलको राजमार्ग चौराहबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि भिमलाल भट्टराइले बताए।

बिहानको समयमा लकडाउन उल्लंघन गरी सडकमा सवारी साधनमा र पैदल हिडनेहरु फाट्टफुट्ट देखिएपछि प्रहरीले मुख्य तथा भित्री सडकहरुमा सुरक्षा थप कडा पारेको छ। रुपन्देहीका प्रहरी प्रमुख एसपि हेमबहादुर थापाले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै केहीलाई सडक चोक चौराहबाट फर्काइएको र अटेरी गर्नेहरुको सवारी नियन्त्रणमा लिइएको बताए। अब पनि अटेरी गरी घरबाहिर निस्कने र सवारी चलाउने गरेको पाइए कडा कारबाही गरिने उनले बताए।

गुल्मीमा निषेधाज्ञा
उता गुल्मीमा पनि लकडाउनको अवज्ञा गर्दै सर्वसाधारण घरबाहिर निस्कन थालेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हाम्रा गुल्मी संवाददाता जनार्दन घिमिरेले बताए। सवारी साधन चलाउने पसल खोल्ने र हिड्डुल गर्ने क्रम नरोकीएपछि निषेधाज्ञा नै जारी गर्नु परेको प्रशासनले जनाएको छ। मंगलबार बिहान ६ बजेदेखि लागू हुनेगरि चैत १८ गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञाको घोषणा गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए।

प्रशासनले सूचना जारी गरि निषेधाज्ञाको समयमा कोही पनि मानिसहरुलाई घरबाहिर ननिस्कनका लागि आग्रह गरिएको छ। प्रशासनले अत्यावश्यक सेवाहरु एम्बुलेन्स, अस्पताल स्वास्थ्य संस्था, औषधि पसलहरु र पेट्रोल पम्प भने २४ सै घण्टा खुला रहने जनाएको छ।

 

प्रकाशित: ११ चैत्र २०७६ १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App