स्वास्थ्य

सावुन पानीले हात धुने ३३ प्रतिशत मात्रै !

काठमाडौं- कोरोना भाइरसबाट बच्नको लागि सावुन पानीले हात धुनुलाई प्रभावकारी मानिएको छ। विश्व स्वास्थ्य संगठनले पनि बारम्बार सावुन पानीले हात धुन अपिल गरेको छ। तर धेरै मानिसहरु यो आधारभुत कुरामा समेत पहुँच राख्न नसक्ने अवस्थामा छन्।

युनिसेफले गरेको एक अध्ययनमा संसारभर हरेक ५ जना मध्ये ३ जनासँग मात्र हात धुने सुविधा उपलब्ध छ। नेपालमा कुल जनसंख्याको आधा भन्दा धेरैको पहुँचमा साबुन पानीले घरमै हात धुने सुविधा छैन।

युनिसेफका अनुसार नेपालमा शहरी क्षेत्रमा बसोबास गर्ने ३३ प्रतिशत वा १० मध्ये ३ जना मानिसहरूमा साबुन पानीले हात धुने सुविधाको पहुँच छैन।

अन्य रोगहरूका साथै कोरोना भाइरसबाट आफु र अन्यलाई जोगाउन साबुन पानीले हात धुनु सबैभन्दा सस्तो र प्रभावकारी उपाय हो। “तर पनि करोडौं मानिसका लागि यो सुविधा पहुँच बाहिर छ”, युनिसेफका कार्यक्रम विभागका निर्देशक सञ्जय विजेसकेराले भने।

युनिसेफको अध्ययन अनुसार  संसारको ४०प्रतिशत जनसंख्या, अर्थात३ अर्ब मानिसको घरमा साबुन पानीले हात धुने सुविधा छैन। अति कम विकसित राष्ट्रका लगभग तीन चौथाई मानिसको घरमा हात धुने आधारभूत सुविधा उपलब्ध छैन।

४७ प्रतिशत विद्यालयमा साबुन पानीले हात धुने सुविधा नभएका कारण विद्यालय जाने उमेरका ९० करोड बालबालिका प्रभावित भएका छन्। संसारभरका एक तिहाई विद्यालय तथा अति कम विकसित राष्ट्रका आधा जसो विद्यालयमा बालबालिकाहरूले हात धुने ठाउँ उपलब्ध नहुने युनिसेफले बताएको छ। १६ प्रतिशत अर्थात प्रत्येक ६ मध्ये १ स्वास्थ्य संस्थाका बिरामी जाँच गरिने स्थानमा प्रयोग गर्न योग्य शौचालय वा हात धुने सुविधा उपलब्ध छैन। नेपालमा ५४ प्रतिशत स्वास्थ्य संस्थाहरूमा बिरामी जाँच गरिने स्थानमा हात धुने सुविधा उपलब्ध छैन । त्यसैगरी स्वास्थ्य संस्थाका बहिरंग विभागहरूमा कीटाणुनाशक तत्व ५९ प्रतिशत मात्र उपलब्ध छन् भने स्वास्थ्य संस्थाका सुत्केरी गराउने कक्षहरूमा पानीको उपलब्धी केवल ६९ प्रतिशत मात्र छ रहेको युनिसेफले बताएको छ।

अफ्रिकाको उप-सहारा खण्डको शहरी क्षेत्रमाबसोबास गर्ने ६३प्रतिशत जनसंख्या (अथवा २५ करोड ८० लाख) आधारभूत हात धुने सुविधाबाट बञ्चित छन्। दक्षिण अफ्रिकाका ४७ प्रतिशत जनसंख्या (लगभग १ करोड ८० लाख मानिस) को घरमा पनि आधारभूत हात धुने सुविधा उपलब्ध छैन जबकि त्यहाँका सबैभन्दा सम्पन्न बासिन्दासंग यो सुविधा हुने सम्भावना १२ गुणा बढि रहेको छ।

केन्द्रिय तथा दक्षिण एसियामा शहरी क्षेत्रमा बसोबास गर्ने २२ प्रतिशत अथवा १५ करोड ३० लाख मानिस हात धुने सुविधाबाट बञ्चित छन्। बंगलादेशको शहरी क्षेत्रमा बसोबास गर्ने ५० प्रतिशत (२ करोड ९० लाख) जनसंख्या, तथा भारतको शहरी क्षेत्रमा बसोबास गर्ने २० प्रतिशत (वा ९ करोड १० लाख) मानिसको घरमा आधारभूत हात धुने व्यबस्था उपलब्ध छैन।

 

 

 

 

 

प्रकाशित: ५ चैत्र २०७६ १०:२२ बुधबार

कोरोना सावुन_पानी हात सरसफाइ