स्वास्थ्य

चैतमा ४३ जिल्लामा दादुरा–रुबेला खोप

भक्तपुर – सरकारले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ। चैत ३ देखि ११ गतेसम्म भक्तपुर जिल्लालगायत बाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई निःशुल्क दादुरा–रुबेला खोप लगाउन लागिएको हो।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले मंगलबार गरेको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पूर्ण खोप सुनिश्चित घोषणा भइसकेको भक्तपुरमा आर्थिक वर्ष २०७५/०७६ मा ८८ प्रतिशत बालबालिकाले खोप लगाए पनि ७४ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएको बताए। बालबालिकाले लगाउने सात प्रकारको खोप लगाए मात्र पूर्ण खोप लगाएको मानिन्छ। यो अभियानअन्तर्गत दादुर–रुबेलाको खोप लगाउने र पूर्ण खोप लगाउन बाँकी रहेकाको पहिचान गरी खोप लगाउन अभिप्रेरित गरिनेछ। भक्तपुरका ३१ हजार ८७० बालबालिकालाई खोप लगाउने लक्ष्य अभियानको छ। जसका लागि चार समूहमा स्वयंसेवक परिचालन गरिनेछ। यसका लागि जिल्लाका भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा १९८ खोप केन्द्र रहनेछन्। प्रत्येक वडामा कम्तीमा नौ खोप केन्द्र सञ्चालन हुनेछन् भने प्रत्येक खोप केन्द्रमा दुई÷दुईका दरले स्वयंसेविका परिचालन हुनेछन्। यसका लागि ३९६ स्वयंसेवक र ७१ खोप कार्यकर्ता परिचालन हुनेछन्। खोप अभियानमा पाँच हजार ४७१ भाइल खोप र सोही अनुपातमा घोलक र ३६ हजार २८० सिरिञ्जको प्रयोग हुनेछ।

खोप अभियानमा खटिनेका लागि आवश्यक तालिम प्रदान गरेको, इँटाभट्टा, श्रमिक क्षेत्र र सुकुमबासी क्षेत्रमा पनि अभियान सञ्चालन गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका खोप अधिकृत नारायण केसीले जानकारी दिए। खोप लगाएपछि बालबालिकामा कुनै समस्या आएमा तत्कालै उपचारको व्यवस्था समेत गरिएको जानकारी दिँदै उनले खोपबाट कुनै प्रकारका प्रतिकूल असर नपर्ने बताए।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार सरकारले पहिलो चरणमा फागुन महिनामा प्रदेश नं १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन गरेको छ भने दोस्रो चरणमा बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ। सरकारले पहिलो र दोस्रो चरणको खोप अभियानमा ३० लाख बालबालिकालाई खोप दिने लक्ष्य राखेको छ। दादुरा र रुबेला खोप अभियान सन् २००४ बाट सुरुआत गरिएको हो। त्यसपछि हरेक चार–चार वर्षमा यो अभियान सञ्चालन हुँदै आएको छ। यो अभियान यसअघि सन् २००४, २००८, २०१२ र २०१६ मा सञ्चालन भइसकेको छ।

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेअनुसार सरकारले सन् २०१९ मा नेपाललाई दादुरा–रुबेला निवारण देश बनाउने लक्ष्य लिएको थियो। तर लक्ष्य हासिल हुन नसकेपछि सन् २०२३ भित्र लक्ष्य पूरा गर्न अभियान सञ्चालन गरिएको छ। अहिले ७३ प्रतिशत बालबालिका पूर्ण खोप पाएका छन् भने पूर्ण खोपको लक्ष्य हासिल गर्न ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ। सरकारले सन् २०२३ सम्म दादुरा रुबेला खोप कभरेज ९५ प्रतिशतभन्दा बढी पु¥याई दादुरा रुबेला निवारण गर्ने उद्देश्य राखेको छ। प्रत्येक १० लाख जनसंख्यामा पाँचभभन्दा कम मानिसमा दादुरा देखियो भने निवारण भएको मानिन्छ। सरकारले राष्ट्रिय दादुरा खोप अभियानका लागि करिब ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ।रासस

प्रकाशित: २८ फाल्गुन २०७६ ०३:१६ बुधबार

दादुरा–रुबेला खोप