स्वास्थ्य

फागुनभर देशव्यापी क्यान्सर र नसर्ने रोग परीक्षण

.

देशमा नसर्ने रोगको भार बढ्दै गएको स्थितिमा यसलाई नियन्त्रण गर्न सरकारले फागुन महिनाभर क्यान्सर तथा नसर्ने रोगको परीक्षण देशव्यापी रूपमा गर्ने तयारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बिहीबार वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा यो योजना सार्वजनिक गरेका हुन्। उनले भने, ‘फागुनभर विभिन्न प्रकारका क्यान्सर र नसर्ने रोगको परीक्षण गर्दैछौं।’

यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन भविष्यमा सबै तहका सरकारहरूको समन्वयमा अन्य महिनामा पनि यस्ता परीक्षण गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका समन्वय शाखा प्रमुख डा. भीम प्रसाद सापकोटाले जानकारी दिए।

डा. सापकोटाका अनुसार यो वर्ष क्यान्सरसहित अन्य नसर्ने रोगको देशव्यापी परीक्षणलाई प्राथमिकता दिइएको छ। तीन तहका सरकारहरूले आ–आफ्नो ढंगले यस्ता परीक्षण गर्दै आए पनि पहिलोपटक देशभर एकै समयमा परीक्षण गर्न लागिएको हो। एकीकृत तथ्यांक प्रणाली र जनचेतना अभिवृद्धिका लागि एकै महिनामा परीक्षण गर्ने योजना बनाइएको उनले स्पष्ट पारे।

नेपालमा हाल पाँच प्रमुख नसर्ने रोग—मुटु, मिर्गौला, मधुमेह, उच्च रक्तचाप, र मानसिक रोगको भार बढी देखिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्ययनअनुसार यी रोगहरूको प्रभाव घटाउन जनस्वास्थ्य सुरक्षाका लागि यस्तो कार्यक्रम आवश्यक रहेको डा. सापकोटाले उल्लेख गरे।

कहाँ के परीक्षण गरिने ?

उच्च रक्तचापको परीक्षणका लागि शरीरको बीएमआई (शरीरको सूचकांक) र रक्तचाप मापन गरिनेछ। मधुमेह र मिर्गौलाको समस्या पत्ता लगाउन स्थानीय तहका स्वास्थ्य संस्थामा पिसाब परीक्षणको व्यवस्था हुनेछ। पिसाबमा चिनी र प्रोटिनको मात्रा हेरेर यी रोगहरूको प्रारम्भिक निदान गरिनेछ। डा. सापकोटाका अनुसार, ‘यो प्रविधि अहिलेका आधारभूत अस्पतालमै उपलब्ध छ।’

क्यान्सरको परीक्षणका लागि जिल्ला अस्पतालसम्म पुग्नुपर्ने व्यवस्था गरिएको छ भने मानसिक रोगको परीक्षण स्थानीय तहमै हुने र आवश्यक परेमा थप उपचारका लागि माथिल्लो निकायमा रेफर गरिनेछ। ‘हालका स्रोत र जनशक्तिको अधिकतम उपयोग गरेर यी परीक्षणहरू सम्पन्न गर्न सकिनेछ,’ डा. सापकोटाले थपे।

प्रकाशित: १३ मंसिर २०८१ १८:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App