स्वास्थ्य

निजी स्वास्थ्य संस्थामा सेवाग्राहीकाे सधैँ भिड, सरकारीमा शून्य

जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका अनुसार भक्तपुरका प्रत्येक वडाहरूमा वडा स्तरीय स्वास्थ्य सेवा केन्द्रहरू छन्। तर जनस्वास्थ्य कार्यालयकै अनुसार ती स्वास्थ्य केन्द्रहरूमा बिरामी आउँदैनन्, जनस्वास्थ्य कार्यालय शून्यशून्य जस्तै नै हुन्छ।

जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका अधिकृत दीपक अच्छामीका अनुसार प्रत्येक स्वास्थ्य केन्द्रहरूमा दुईदेखि तीन जना स्वास्थ्यका कर्मचारीहरू छन्। तर बिरामी पनि दशदेखि बाह्र जना मात्रै आउँछन्, स्वास्थ्य सेवा लिन।

'हाम्रो सरकारी स्वास्थ्य सेवा खासमा खेर गएको छ,' उनले भने, 'सबै छ, तर बिरामी छैनन्।' सरकारी स्वास्थ्य सेवाप्रति विश्वास नभएर हो वा जानकारी नभएर हो बिरामी सरकारी स्वास्थ्य केन्द्रहरूमा आउने नगरेको उनले जनाए। धेरै सरकारी सेवाका कार्यक्रमहरू बिरामी अभावमै खेर गइरहेको उनको भनाइ छ।

तथ्याङ्क अनुसार जिल्लामा सात वटा अस्पतालहरू छन्। भक्तपुर नगरपालिका क्षेत्रमा चार वटा र बाँकी तीन वटा नगरपालिकाहरू मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायणमा गरी एउटा एउटा सरकारी अस्पतालहरू छन्। सरकारी अस्पतालहरुमा बिरामी भए पनि त्यस भन्दा तलका वडा स्तर लगायतका सरकारी स्वास्थ्य केन्द्रहरूमा बिरामीहरू आउने नगरेको कार्यालयले जनाएको छ। 

भक्तपुर र सूर्यविनायक नगरपालिकामा दस दस, मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकामा नौ/नौ वटा गरी जिल्लामा कुल ३८ वडा वडा स्तरीय स्वास्थ्य सेवा केन्द्रहरू रहेको कार्यालयको तथ्याङ्क छ। तर जिल्ला स्तरीय अस्पतालहरू भन्दा तलका सरकारी स्वास्थ्य सेवा केन्द्रहरूमा सेवाग्राहीहरू नआउने गरेको कार्यालयको भनाई हो।

कार्यालयका अनुसार सरकारी स्वास्थ्य केन्द्रहरूमा उपत्यकाबाहिरबाट आएर कोठा भाडामा बस्ने न्यून वर्गका परिवार मात्रै आउँछन्। बाँकी भने निजी अस्पतालमा पैसा तिरेरै भए पनि त्यही स्वास्थ्य सेवा लिन पुग्छन्। तथ्याङ्क अनुसार जिल्लामा सरकारी भन्दा निजी अस्पतालहरूको संख्या बढी छ। सरकारी सात वटा छन् भने निजी नौ वटा सरकारी अस्पतालहरू जिल्लामा छन्। यसबाहेक निजी मेडिकल, क्लिनिकहरू असङ्ख्य छन्।

जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका कार्यालय प्रमुख शान्तिराम खतिवडाले सरकारी जिल्ला स्तरीय अस्पतालहरुमा बिरामीहरू रहे पनि त्यो भन्दा तलका स्वास्थ्य केन्द्रहरूमा बिरामीहरू नआउने गरेको जानकारी गराए। जिल्ला स्तरीय अस्पतालहरुमा धेरै लाइन बस्नुपर्ने भएकाले निःशुल्क (स्वास्थ्य बिमा) भए पनि बिरामीहरू नआएका होलान्, उनले भने, सरकारी जिल्ला स्तरीय अस्पतालहरुमा भीड लाग्ने भएकाले जिल्ला स्तरीयबाहेकका अन्य स्वास्थ्य सेवाहरु लिन वडा वडाका सरकारी स्वास्थ्य क्लिनिकहरूमा जान अनुरोध गर्दछु। वडा स्तरीय स्वास्थ्य सेवा केन्द्रहरूमा पनि सेवा हुने भन्दै उनले त्यो भन्दा माथिको सेवा चाहिए वडा स्तरीय स्वास्थ्य सेवा केन्द्रहरूले नै रिफर गरेर पठाउने भएकाले एकैचोटी जिल्ला स्तरीय अस्पतालहरुमा नआइदिन उनले अनुरोध गरे।

जिल्लाका सात वटा सरकारी अस्पतालहरूमध्ये भक्तपुर अस्पताल पुरानो र ठूलो अस्पताल हो। यहाँ दैनिक पाँच ६ सय बिरामीहरू ओपिडीमा मात्रै आउने गरेको तथ्याङ्क छ। त्यही कारण बिरामीहरूलाई सेवाका लागि अस्पतालले पेइग सेवा (पैसा लिएर बिहान र बेलुकी) थप सेवा प्रदान गर्दै आएको छ।    

प्रकाशित: २७ कार्तिक २०८१ १७:३९ मंगलबार

#Health Service