स्वास्थ्य

बालबालिकामा निमोनियाको जोखिम किन हुन्छ उच्च?

फोक्सोमा हुने एक प्रकारको सङ्क्रमण जसलाई निमोनिया भनिन्छ। निमोनिया ब्याक्टेरिया, भाइरस वा फङ्गसका कारणले हुने गर्छ। निमोनियाले हुन त जुनसुकै उमेर समूहलाई प्रभावित बनाउँछ। तर, यसको उच्च जोखिममा भने नवजात शिशुदेखि ५ वर्ष मुनिका बालबालिका हुने गर्छन्।

त्यसका साथै स्तनपान नगराएका र कुपोषण या अल्पपोषणका कारणबाट प्रतिरोधी प्रणाली कमजोर भएका बालबालिका पनि निमोनियाको उच्च जोखिममा हुन्छन्। यस्तै, वातावरणीय कारणहरू, खाना पकाउँदा र दाउरा तथा जैविक इन्धन प्रयोग गर्दा, भीडमा बस्दा या अभिभावकले गर्ने धूमपानका कारण पनि बालबालिकालाई निमोनियाको जोखिम हुन्छ।

निमोनिया श्वासप्रश्वासजन्य सङ्क्रमण हो, जसले फोक्सोमा असर गर्छ। फोक्सो एल्भीओली नामक स–साना थैलीबाट बनेका हुन्छन्। स्वस्थ व्यक्तिले श्वास फेर्दा ती थैलीमा हावा भरिन्छन्। तर, निमोनिया सङ्क्रमण हुँदा बेलैमा उपचार भएन भने उक्त एल्भीओलीमा पानी या पिप भरिन थाल्छ, जसले गर्दा श्वास फेर्न कठिनाइ हुन थाल्छ। र, समयमै उपचार भएन भने बिरामीको मृत्यु समेत हुन सक्छ।

निमोनिया मुख्यतयः भाइरल र ब्याक्टेरियल गरी दुई प्रकारको हुन्छ। त्यसमध्ये ब्याक्टेरियल निमोनियाका कारण अधिकांश बालबालिकामा स्ट्रेप्टोकोकस निमोनिया हुन्छ। दोस्रो–हेमोफिलस इन्फ्लुयन्जा टाइप बी हो। तेस्रो–रेस्पीरेटोरी सिन्सीटल भाइरसका कारण हुने निमोनिया हो। एचआइभी भएका बालबालिकामा भने निमोसाइटिस जिरोभेसी निमोनिया हुने प्रमुख कारक हो।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार ५ वर्षमुनिका बालबालिकाको मृत्युको १४ प्रतिशत कारक निमोनिया रहेको छ भने समग्र मृत्युको २२ प्रतिशतमा निमोनिया कारक रहने गरेको छ।

सन् २०१९ मा मात्र ७ लाख ४० हजार १ सय ८० बालबालिकाको मृत्यु निमोनियाबाट भएको सङ्गठनको तथ्याङ्क छ।

नेपालमा पनि बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया मानिन्छ। नेपालमा निमोनियाबाट हुने ५ वर्षमुनिका बालबालिकाको मृत्यु सन् २०१४ सम्म १३ प्रतिशत रहे पनि २०१५ देखि सरकारले निमोनियाविरुद्धको खोप निःशुल्क सुरु गरेयता निमोनियाबाट हुने मृत्यु दर घट्दै गएको छ।

वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.लव कुमार साहका अनुसार सरकारले उपलब्ध गराउँदै आएको नियमित खोप र निमोनियाविरुद्धको खोप नियमित रुपमा सबै अभिभावकले आफ्ना बालबालिकालाई लगाउनु पर्छ।

निमोनियाको जोखिमबाट बच्नका लागि राष्ट्रिय खोप तालिका अनुसारका खोपहरू अभिभावकले आफ्ना बालबालिकालाई नबिराई लगाउँदा पनि त्यसले निकै फाइदा हुने डा.साहको भनाइ छ।

त्यसबाहेक भनेको बालबालिकालाई निमोनिया हुन नदिनका लागि रुघाखोकी लाग्न दिनु हुँदैन, रुघाखोकी लागेका व्यक्तिबाट बालबालिकालाई टाढा राख्ने, चिसो हुने अवस्थाबाट जोगाउने, आमाको दूध नियमित खुवाउने, सरसफाईमा ध्यान दिने र धूमपान नगर्ने, घरभित्र धुँवा कम गर्ने र वातावरण स्वच्छ राख्ने काम गर्नाले पनि बालबालिकालाई निमोनियाको जोखिमबाट बचाउन सकिन्छ।

प्रकाशित: २७ कार्तिक २०८१ १४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App