स्वास्थ्य

विश्व महामारी सम्झौतामा एसियाली मुलुकको पहुँच सुनिश्चित गर्न जोड

एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालले विश्व स्वास्थ्य महामारी सम्झौतामा क्षेत्रीय देशहरूको समतामूलक पहुँचको सुनिश्चितता हुने गरी पारित हुनु पर्नेमा जोड दिएको छ।

आगामी नोभेम्बरमा विश्व स्वास्थ्य संगठनले गर्न लागेको विश्व स्वास्थ्य महामारी सम्झौता सम्मेलन गर्दै छ। विगतदेखि नै विभिन्न महामारीजन्य रोगको व्यवस्थापनमा आवाज उठाउँदै आएको एएचएफले यो वर्ष महामारी सम्झौतामा सबैको पहुँच हुनु पर्नेमा जोड दिँदै आएको हो।

विगतका महामारीमा देखिएको असमतामूलक पहुँचले कम आय भएका, तर बढी जनसंख्या भएको क्षेत्रका राष्ट्रहरूको पहुँच नहुँदा महामारीको असर बढी झेल्नु परेको  एएचएफ नेपालका देशीय व्यवस्थापक दिब्यराज जोशीले बताए। विगतकै अनुभवमा कोभिड–१९ महामारीको बखत कम आय भएका तर धेरै जनसंख्या रहेको एसियन तथा अन्य विपन्न मुलुकका नागरिकले समयमै खोप नपाएको उनले सुनाए।

यसैले विश्वको धेरै जनसंख्या भएको एसियाली मुलुकका नागरिकको पहुँचमा पुग्ने गरी सेवा, स्रोतमा पहुँच पुग्ने गरी सम्झौता हुनु पर्नेमा जोशीको जोड छ।

‘यो भेगबाट सम्मेलनमा भाग लिने नेतृत्वदायी देशहरूले एसियासहित सबै क्षेत्र र भूगोलको पहुँचमा हुने गरी बोल्न आग्रह छ,’ जोशीले भने, ‘नेपालका प्रतिनिधि, विश्व बैंकमा पहुँच भएका देशहरू मलेसिया, थाइल्यान्ड, सिंगापुर जस्ता राष्ट्रहरूले यो कुरा उठान गर्नु आवश्यक छ।’

विश्व भरी बढ्दै गएका नयाँ रोगका महामारीको स्थिति हेर्दा कुनै पनि बेला कोभिड जस्तै अन्य रोगको महामारी आउन सक्ने भएकोले यसको व्यवस्थापन गर्न सेवा र स्रोतमाथिको पहुँच समतामूलक हुनुपर्ने एएचएफको जोड छ।

महामारी व्यवस्थापनमा आपसमा ज्ञान, सूचना, आर्थिक लगानी, श्रम लगानी जस्ता पक्षले प्रभाव पार्दछन्। आउँदो सम्झौता सम्मेलनमा स्थानीय रूपमा खोपको उत्पादन, रोगको निदानमा आवश्यक परीक्षणमा पहुँच, प्रविधि हस्तान्तरण, दिगो कोष व्यवस्थापन र नागरिक समाजको सहभागिता जस्ता पक्षको समावेश हुने गरी सम्झौता हुनुपर्ने एएचएफको जोड छ।

महामारी सम्झौता तथा कोषको विषयमा विभिन्न चरणमा भेला, सम्मेलन भइसकेका छन् भने नोभेम्बरमा यसको ठोस सम्झौता निर्णय हुँदै छ।

प्रकाशित: १३ कार्तिक २०८१ १७:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App