स्वास्थ्य

समयमै पहिचान गरे निको हुन्छ प्रजनन् अङ्गमा देखिने रोग

महिलामा मात्रै ४० प्रकारका क्यान्सर

महिलाहरूमा मात्र देखिने स्वास्थ्यसम्बन्धी समस्याहरू विभिन्न प्रकारका छन्। किशोरावस्था, आमा बन्ने उमेर तथा ढल्कदो उमेरका महिलाहरूमा फरक–फरक स्वास्थ्य समस्या देखिने गर्छ। महिलाहरूको प्रजनन् सम्बन्धी समस्याहरू पनि विभिन्न प्रकारका छन्। गाउँ र सहरका महिलाको स्वास्थ्यमा पनि आ–आफ्नै समस्या हुन्छ। महिलामा देखिने सयौँ किसिमका रोगहरू मध्ये प्रजनन् अङ्गमा आउने समस्या पनि प्रमुख हो।

पछिल्लो समय महिलामा अत्यधिक मात्रामा क्यान्सर देखिएको छ। महिलाहरूमा मात्रै झण्डै ४० प्रकारका क्यान्सर हुने गरेको पाइएको छ। महिलाहरूको अण्डासय र डिम्बवाहिनी नलीमा हुने क्यान्सर पनि फरक हुने गर्छन्। अण्डासयमा मात्र भिन्दाभिन्दै २५ देखि ३० प्रकारको क्यान्सरहरू देखिने गरेको छ।

संसारमा सबैभन्दा बढी स्तनको क्यान्सर हुने गरेको पाइन्छ। त्यसबाहेक महिलाको प्रजनन् अङ्गमा हुने सङ्क्रमण समेत उत्तिकै मात्रामा हुने गरेको पाइन्छ। जीवनशैली र रहनसहन फरकफरक हुँदै जाँदा त्यहिअनुसार अरु रोगहरू पनि बढ्दै जाने गरेको पाइन्छ।

किशोरीहरूमा महिनावारी गडवडी हुने, अण्डाहरू परिपक्क नहुँदा विवाह पछि बच्चा नबस्ने समस्या, वृद्धा अवस्थामा क्यान्सर हुने सम्भावना पनि देखिने गर्दछ।

किशोरी, महिला, बच्चा जन्माउने उमेरका महिला र महिनावारी सुक्न थालेको र सुकिसेका महिलाहरूमा फरकफरक किसिमका स्वास्थ्य समस्या देखिन्छन्। सामान्यजस्तो देखिने फोहोर पानी बग्नेदेखि लिएर क्यान्सर जस्ता रोगहरू देखिने भएकाले यस्तै समस्या छन् भन्दा पनि धेरै नै छन्भन्न सकिन्छ।

शहरी क्षेत्रका महिलाहरूमा आफ्नो स्वास्थ्य सम्बन्धी चासो, स्वास्थ्य बीमा कार्यक्रमले ल्याएको जागरूकता जस्ता कारण समयमै आउने गरेको पाइन्छ भने गाउँघरका महिला भने जनचेतनाको अभावमा सहर बजारको तुलनामा कमै अस्पताल आउने गरेका छन्।

महिला प्रजनन् अङ्गका रोगमा केहीलाई छोडेर सबैमा सर्जरी गर्नुपर्छ भन्ने हुँदैन। प्रविधिको विकास भएसँगसँगै नेपालका अस्पतालहरूले पनि विभिन्न किसिमका प्रविधिहरू भित्र्याइएका छन्। महिला प्रजनन् अङ्गमा हुने क्यान्सर जस्ता केही रोगहरूको समयमै पहिचान गरेर उपचार गर्न नसके शरीरमा खतरा उत्पन्न हुन्छ।

सबै ठाउँका मानिसहरू डाक्टरकोमा पुग्न नसक्लान् तर स्वास्थ्य चौकी सबै ठाउँमा हुने भएकाले त्यहाँ तालिम प्राप्त स्वयंसेविकारू हुने गर्छन्। त्यसकारण कुनैपनि शङ्का लागेमा आफ्ना समस्याहरू देखाउन जानुपर्छ। अर्को निःसन्तान दम्पत्ती स्वास्थ्यकर्मी कहाँ जादा महिला पुरूष दुवैजना जानुपर्छ। महिलाहरूले आफूलाई लागेका रोगहरू नलुकाइ सचेत भएर अस्पताल गए समयमै रोगको उपचार हुन्छ।

सामान्यतया १०० मा १५ जनाको सर्जरीबाट बच्चा निकालिन्छ। तर, नेपालमा आजभोलि सयजनामध्ये ५० प्रतिशतभन्दा बढी महिलाको अपरेसन गरेर बच्चा जन्माउने गरिएको पाईन्छ। मानिसहरू रिक्स लिन चाहँदैनन्। मनिटरिङ धेरै हुन थाल्यो, जस्तै बच्चाको मुटुको ढुकढुकी अलिकति तलमाथि हुने बित्तिकै बच्चालाई खतरा छ निकालौ भनेर निकालिदिने। प्रसव पीडा सुरूभयो भने बच्चाले दिशा गरेछ अब दिशा खाने भयो भन्दै अपरेशन गरेर बच्चा निकाल्ने हुन्छ। पहिलो बच्चा अपरेसन गरिसकेपछि दोस्रो जन्माउने समयमा पहिलेको घाउ फुट्न सक्ने हुने भएकाले पनि मानिसहरू जोखिम लिन चाहँदैनन् र फेरि अपरेसन नै गरेर बच्चा जन्माउने गरेको पाइन्छ।

पाठेघरको बच्चा बस्ने ठाउँको क्यान्सर जुन अलि कम मात्रामा हुन्छ। ढिला र कम बच्चा पाउने महिलालाई यसको जोखिम हुन सक्छ। यो विकसित मुलुकमा बढी हुने गरेको देखिन्छ।

 

(प्रा.डा पदमराज पन्त, प्रसुती तथा स्त्रीरोग विशेषज्ञ)

प्रकाशित: १४ आश्विन २०८१ १३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App